कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ विद्युतीय कार ‘सोल इभी’ बजारमा ल्याएको छ।
पछिल्लो समय विश्वव्यापीरुपमै विद्युतीय सवारीसाधनको माग बढेको र केही देशले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधन बन्द समेत गर्न लागेका बेला कियाले नेपालमा यो कार भित्र्याएको हो। यो कार वातावरणमैत्री भएको कम्पनीले जनाएको छ।
उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र यसमा जस्तो क्षमता अन्य कुनै विद्युतीय सवारीमा नभएको कम्पनीको दाबी छ। शून्य कार्बन उत्सर्जनको नारा दिएको यो कार एक पटकको पूरा चार्जमा १ सय ४५ किलोमिटर गुड्ने कम्पनीले जनाएको छ।
दोस्रो पुस्ताको आर्टिटेक डिजाइनमा तयार भएको यो कारमा लिथियम आयोन पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ। धेरै कुद्ने भएपनि यसको व्याट्री चार्ज गर्न एकदमै कम समय लाग्छ। कम्पनीले संचालन गर्न लागेको चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसि लो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ।
यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ। यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समेत समावेस छ। दुई वटा संस्करणमा उपलब्ध यो कारको मूल्य क्रमशः ५६ लाख र ५८ लाख रुपैयाँ छ। यसको महँगो संस्करणमा सन रुफ छ। यो कारमा गियरको झन्झट नहुने बताइएको छ।
सार्वजनिक समारोहमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले नेपालमा कियाले मात्र विद्युतीय एसयुभी ल्याएको बताए। यो कारले स्वास्थ्य र वातावरणलाई प्रत्यक्ष लाभदायी हुने तथा इन्धन खरिद गर्दा बाहिरने करोडौ रकम बच्ने उनको भनाइ छ।
त्यस्तै कार्यक्रममा दक्षिण कोरियाकी काउन्सुलर तथा डेप्युटी चिफ कङ्गा योलले यस्ता गाडीले इन्धनमा धेरै रकम बचत हुने तथा समग्र देशकै विकासमा टेवा पुग्ने बताइन्।
कार्यक्रममा बोल्दै किया मोटर्स कर्पोरेसनका जोसेप चोइले विश्वका उच्च ब्रण्डहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले डिजाइन र गुणस्तरमा यसमा कुनै सम्झौता नगरिएको उल्लेख गरे।
यसैबीच राजधानीको गैह्रीधारामा कियाको नयाँ शोरुम समेत खुलेको छ। शोरुमको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे, दक्षिण कारियाकी काउन्सुलर तथा डेपुटी चिफ कङ्गा योलर र किया मोटर्स कर्पोरेसनका जोसेप चोइले संयुक्त रुपमा उद्घाटन गरे।