१२ औं नाडा अटो सो मेला सकिएको छ। भृकुटीमण्डपमा मंगलबारदेखि आज आइतबारसम्म चलेको मेलाको ६५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको मेलामा १६ सय मोटरसाइकल तथा स्कुटर बुकिङ भएका छन्। त्यस्तै १ हजार चार पाङ्ग्रे सवारीसाधन बुकिङ भएको मेलाका संयोजक दिपककाजी तुलाधरले जानकारी दिए। उनका अनुसार दुई पांग्रे तथा चार पांग्रे सवारी साधन र पार्टपूर्जा गरी ३ अर्ब बढीको बुकिङ भएको छ।
विविध बिधामा उत्कृष्ट स्टलहरुलाई पनि समापनका अवसरमा सम्मान गरिएको छ। बेस्ट सपोर्टिङ स्टलका रुपमा सरन इलेक्ट्रोनिक्स, बेस्ट कमर्सियल स्टलका रुपमा अशोक लेल्याण्ड, टु ह्विलर बेस्टमा बजाज, फोर ह्विलर बेस्टमा गो अटोमोबाइल्सलाई सम्मान गरिएको छ। त्यस्तै गेट पासको लक्की ड्रमार्फत कुपन नं. ०२४८४० ले यूएम बाइक उपहार प्राप्त गरेको छ।
समापन अवसरमा नाडाका अध्यक्ष अन्जान श्रेष्ठले १२ औं मेला उत्साह र सफलतापूर्वक सम्पन्न भएको बताए। आयोजकले ५० हजारले मेला अवलोकन गर्ने जनाए पनि समापन हुँदा लक्ष्यभन्दा बढी भएकोमा उनले खुसी व्यक्त गरे।
नेपाली बजारमा भित्रिएका विश्वका सबै ब्रान्डका सवारी साधन मेलामा राखिएको थियो। एउटै छानामुनि सबै सवारीसाधनबारे बुझ्न सकिने भएकाले सर्वसाधारणका लागि मेला महत्वपूर्ण बनेको आयोजक समितिका सदस्य अनुप बरालले जानकारी दिए।
साना, ठूला गरी ९१ वटा कम्पनीहरु सहभागी भएको मेलामा १ सय ३० वटा स्टल राखिएका थिए। मेलामा चार पाँग्रे गाडीहरु, मोटरसाइकल तथा स्कुटर, तिनका पार्टपूर्जा, लुब्रिकेन्टस लगायतका स्टलहरु थिए।