छिमेकी देश चीनले आफ्नो तीव्र गतिको बुलेट रेल सुरु गरिसकेको छ। विश्वकै तीव्र रेलमध्ये मानिएको फक्सिङ बुलेट रेल सेवाको गति ३५० किलोमिटर प्रतिघण्टा छ। यसको उच्च गति ४०० किलोमिटर प्रतिघण्टा भएपनि सुरक्षालाई ध्यानमा राख्दै ३५० मै चलाइने भएको हो।
यस्तै ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल भारतमा अब भारतमा पनि सुरु हुने भएको छ।
भारतको पहिलो बुलेट रेल गुजरातको अहमदाबाददेखि मुम्बईसम्म चल्नेछ।
बिबिसीमा उल्लेख भएअनुसार भारतमा बुलेट रेल संचालन गर्न जापान सरकारले करिब १७४० अर्ब रुपैयाँ ऋण दिएको हो।
जापानी प्रधानमन्त्री शिन्जो अबेले बिहीबार भारतमा बुलेट रेल संजाल निर्माण शिलन्यास गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्लाबाट सुरु हुने यो रेल सेवामार्फत् ५०० किलोमिटर दूरी ३ घण्टामा पार गर्न सकिने अपेक्षा गरिएको छ। साविकमा यो दूरी पार गर्न ८ घण्टा लाग्दै आएको छ।
७५० वटा सिट भएको यो रेल सेवा सन् २००२ अगस्टदेखि सुरु गर्ने गरी काम भइरहेको छ।
यो चल्ने अधिकांश ट्र्याक जमिनभन्दा माथि बनाइनेछ भने करिब ७ किलोमिटर ट्र्याक समुन्द्रमुनि बनाइएको सुरुङमार्गमा हुनेछ। पूरा बाटोमा कुल १२ वटा स्टेशन राख्ने योजना छ।
हाल भारतमा चलिरहेका रेलभन्दा यो कम्तीमा दुई गुणा तीव्र छ।
सरकारले भारतका मुख्य सहर बुलेट रेलले जोड्ने कार्यक्रम बनाइरहेको छ। तर, आलोचकले तीव्रभन्दा सुरक्षित सेवामा जोड दिनुपर्ने बताएका छन्।
समर्थकले भने यस्ता तीव्र गतिको रेल सेवा झन् सुरक्षित र सुविधायुक्त हुने भन्दै यसले आर्थिक, पूर्वाधार विकासमा मद्दत पुर्याउनेमा जोड दिएका छन्।
भारतमा वर्सेनि सयौं व्यक्तिले रेल दुर्घटनामा ज्यान गुमाउँदै आएका छन्।
केही महिनायता भएका लगातार रेल दुर्घटनापछि प्रधानमन्त्री मोदीले रेलमन्त्री नै परिवर्तन गरेका छन्।