सेयर बजारमा लघुवित्त कम्पनीहरुको अबदेखि छुट्टै उपसूचक रहने भएको छ। हालसम्म विकास बैंक उपसूचकमा नै लघुवित्त कम्पनीहरुको कारोबार मापन हुँदै आएकोमा संभवतः आइतबारदेखि नै छुट्टै उपसूचकमा कारोबार हुने नेप्सेले जनाएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार संभवतः भोलिदेखि नै विकास बैंक र लघुवित्तको उपसूचक छुट्टाछुट्टै हुने छ। ‘गत मंगलबारदेखि नै हामीले विकास बैंक र लघुवित्तलाई छुट्टै उपसूचक बनाउने गृहकार्य गरेका थियौं, संभवतः भोलिदेखि नै यसलाई कार्यान्वयनमा लगिनेछ’ सेतोपाटीसँग उनले भने।
हाल नेप्सेमा ३३ वटा लघुवित्त कम्पनी र ३८ वटा विकास बैंक सूचीकृत छन्। यी सबै कम्पनीलाई हालसम्म विकास बैंक उपसूचकमार्फत नै मापन गरिँदै आएको थियो। जसले गर्दा अधिकांश लघुवित्त कम्पनीहरुमाथि विकास बैंकको प्रभाव पर्ने भएपछि वास्तविक मापनमा लगानीकर्तालाई अन्यौलता पर्दै आएको थियो।
नेप्सेको कार्यभार सम्हालेपछि सिइओ चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीहरुको उपसूचक अलग्याउने निर्णय गरेका थिए। जसअनुसार अन्ततः नेप्सेमा एक उपसूचक थपिने भएको हो।
लगानीकर्ता मनोहर घिमिरेले यसअघि आफूहरुले बारम्बार विकास बैंक र लघुवित्तको उपसूचक छुट्याउन नेप्सेलाई आग्रह गर्दै आएको बताए। उनले भने ‘सबैजसो लघुवित्तको मूल्य बढ्दा पनि उपसूचक रातो देखिने र कहिले सबैजसो लघुवित्तको मूल्य घट्दा पनि उपसूचक हरियो देखिने गर्दथ्यो, जुन विकास बैंकको प्रभावले हो, उपसूचक छुट्याएपछि त्यो समस्या रहँदैन’ उनले भने।
नेप्सेमा हाल ९ वटा उपसूचकहरु छन्। विकास बैंकलाई दुई उपसूचक बनाएपछि उपसूचकको संख्या १० पुग्नेछ। बैंकिङ, विकास बैंक, व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा, उत्पादन र अन्य नेप्सेका उपसूचक हुन्। बैंकिङ उपसूचकमार्फत २७ वाणिज्य बैंकहरुको कारोबार मापन हुने गर्दछ।
त्यस्तै होटल उपसूचकले ४ होटलहरु ओरियन्टल, सोल्टी, तारागाउँ र याक एण्ड यतीको कारोबार मापन गर्दछ। अन्यले नेपाल टेलिकम, फिल्म डेभलपमेन्ट कम्पनी र जलविद्युत लगानी तथा विकास गरी ३ कम्पनीको मापन गर्दछ। व्यापार समूहले विशाल बजार, नेपाल ट्रेडिङ, साल्ट ट्रेडिङ र वेलफेयर कम्पनीको कारोबार मापन गर्दछ। विकास बैंक उपसूचकमा राष्ट्र बैंकबाट ख र घ वर्गको इजाजत लिएका क्रमशः ३८ र ३३ गरी ७१ कम्पनीको कारोबार मापन हुँदै आएको छ।
बिमा उपसूचकले जीवन र निर्जीवन गरी २२ कम्पनीको कारोबार मापन गर्दछ। फाइनान्स उपसूचकमा राष्ट्र बैंकबाट ग वर्गको इजाजत लिएका ३१ कम्पनीहरु पर्दछन् भने हाइड्रोपावर उपसूचकमा १६ जलविद्युत कम्पनीहरु छन्। १८ कम्पनी उत्पादन उपसूचकमा रहेका छन्। यी उपसूचकमा रहेका कतिपय कम्पनीको भने लामो समयदेखि कारोबार हुन सकेको छैन।
यी उपसूचकमध्ये बजार पुँजीकरणका आधारमा बैंकिङको हिस्सा सबैभन्दा ठूलो भएकाले सो उपसूचकको समग्र नेप्सेलाई सबैभन्दा बढी प्रभाव पर्दछ। प्रायः सोही उपसूचककै कारोबार उच्च हुने गर्दछ।