सानिमा बैंकले पहिलो त्रैमासिक अवधिमा नाफा ७ करोडले बढाएको छ। बैंकले चालु आवको पहिलो तीन महिनामा ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको यस अवधिमा बैंकको यस्तो नाफा २७ करोड १६ लाख थियो।
नाफा बढाएकै कारण बैंकले आफ्नो प्रतिसेयर आम्दानीलाई पनि धेरै हदसम्म सन्तुलनमा राख्न सफल भएको छ। बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा छ। गत वर्ष यो २० रुपैयाँ १९ पैसा थियो। यो अवधिमा बैंकको चुक्ता पुँजी भने ८ अर्ब पुगेको छ।
उसले ८ अर्ब १२ लाख चुक्ता पुँजी पुर्याइसकेको छ। गत वर्ष यस्तो पुँजी ५ अर्ब २७ करोड थियो। बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस वितरण गरेको छ। सो बोनस समायोजन गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब नाघेको हो। बैंकको सिडी रेसियो भने ७९ प्रतिशत छ।
यस्तो रेसियो ८० प्रतिशतभित्रै हुनुपर्ने प्रावधान छ। त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात २० देखिन्छ। जसले बैंकको सेयर लगानीयोग्य मानिन्छ। बजारमा उसको मूल्य प्रतिकित्ता साढे ३ सय रुपैयाँको हाराहारीमा छ।
बैंकको निश्क्रिय कर्जा भने सामान्य बढेको छ। गत आवको यस अवधिमा यस्तो कर्जा ०. ०५ प्रतिशत रहेकोमा अहिले ०.१४ प्रतिशत पुगेको छ। बैंकले देखाएको खुद नाफामा राइट ब्याकको योगदान समेत घटाएको छ।
बैंकको जगेडा कोष १ अर्ब ४० करोडको छ।