आजदेखि सेयर बजारमा माइक्रोफाइनान्स उपसूचक थपिएको छ। हालसम्म विकास बैंक उपसूचकमा नै लघुवित्त कम्पनीहरुको कारोबार मापन हुँदै आएकोमा आजबाट ति कम्पनीको छुट्टै कारोबार मापनका लागि माइक्रोफाइनान्स उपसूचक लागू गरिएको नेप्सेले जनाएको छ।
थपिएको पहिलो दिन नै सो उपसूचक १२. ९ अंकले घटेर १८३२ अंकमा कायम भएको छ। हाल नेप्सेमा ३३ लघुवित्त कम्पनी सूचीकृत छन्। यी सबै कम्पनीलाई यसअघिसम्म विकास बैंक उपसूचकमार्फत नै मापन गरिँदै आएको थियो।
जसले गर्दा अधिकांश लघुवित्त कम्पनीहरुमाथि विकास बैंकको प्रभाव पर्ने भएपछि वास्तविक मापनमा लगानीकर्तालाई अन्यौलता पर्दै आएको थियो।
नेप्सेको कार्यभार सम्हालेपछि सिइओ चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीहरुको उपसूचक अलग्याउने निर्णय गरेअनुसार एक उपसूचक थपिएको हो।
योसँगै नेप्सेमा उपसूचकको संख्या १० पुगेको छ। बैंकिङ, विकास बैंक, व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य नेप्सेका उपसूचक हुन्। बैंकिङ उपसूचकमार्फत २७ वाणिज्य बैंकहरुको कारोबार मापन हुने गर्दछ।
त्यस्तै होटल उपसूचकले ४ होटलहरु ओरियन्टल, सोल्टी, तारागाउँ र याक एण्ड यतीको कारोबार मापन गर्दछ। अन्यले नेपाल टेलिकम, फिल्म डेभलपमेन्ट कम्पनी र जलविद्युत लगानी तथा विकास गरी ३ कम्पनीको मापन गर्दछ। व्यापार समूहले विशाल बजार, नेपाल ट्रेडिङ, साल्ट ट्रेडिङ र वेलफेयर कम्पनीको कारोबार मापन गर्दछ। विकास बैंक उपसूचकमा राष्ट्र बैंकबाट ख वर्गको इजाजत लिएका ३८ र माइक्रोफाइनान्समा घ वर्गको इजाजत लिएका ३३ कम्पनीको कारोबार मापन हुन्छ।
बिमा उपसूचकले जीवन र निर्जीवन गरी २२ कम्पनीको कारोबार मापन गर्दछ। फाइनान्स उपसूचकमा राष्ट्र बैंकबाट ग वर्गको इजाजत लिएका ३१ कम्पनीहरु पर्दछन् भने हाइड्रोपावर उपसूचकमा १६ जलविद्युत कम्पनीहरु छन्। १८ कम्पनी उत्पादन उपसूचकमा रहेका छन्।
यी उपसूचकमध्ये बजार पुँजीकरणका आधारमा बैंकिङको हिस्सा सबैभन्दा ठूलो भएकाले सो उपसूचकको समग्र नेप्सेलाई सबैभन्दा बढी प्रभाव पर्दछ।