निजी क्षेत्रका उत्कृष्ट दुई बैंक नविल र इन्भेष्टमेन्टले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार इन्भेष्टमेन्टले नविललाई खुद नाफाका आधारमा जितेको छ।
गत वर्षसम्मको वित्तीय विवरणअनुसार नविलको नाफा धेरै रहेकोमा चालु आवको पहिलो त्रैमासमा इन्भेष्टमेन्ट अगाडि देखिएको हो। यस अवधिमा नविलको भन्दा इन्भेष्टमेन्टको नाफा ४ करोड ३५ लाखले बढी छ।
नविलले साउन, भदौ र असोज महिनामा ८५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सोही अवधिमा इन्भेष्टमेन्टको खुद नाफा ८९ करोड ४९ लाख छ।
नविलको नाफा गत वर्षको सोही अवधिमा भन्दा ५ करोड ३१ लाख बढी हो भने इन्भेष्टमेन्टको १५ करोड ४१ लाख बढी हो। यस्तो नाफामा खुद व्याजवापतको आम्दानी सबैभन्दा महत्वपूर्ण छ। यस्तो आम्दानी इन्भेष्टमेन्टकोभन्दा नविलको धेरै छ। इन्भेष्टमेन्टको १ अर्ब ३२ करोड छ भने नविलको १ अर्ब ३६ करोड छ।
व्याजवावतको आम्दानी नविलको धेरै हुँदा हुँदै पनि खुद नाफामा खर्च तथा अन्य आम्दानीको प्रभावले इन्भेष्टमेन्ट अगाडि देखिएको हो।
इन्भेष्टमेन्टले संभावित जोखिम व्यवस्थापनबाट ९ करोड ७९ लाख ‘राइट ब्याक’ गरेको छ भने नविलले जम्मा २ लाख ९९ हजार मात्रै गरेको छ, यसले गर्दा पनि नविलको भन्दा इन्भेष्टमेन्टको नाफा बढी देखिन पुगेको हो।
चुक्ता पुँजी र जगेडा कोषको आधारमा इन्भेष्टमेन्ट बैंक अगाडि रहँदै आएको छ। इन्भेष्टमेन्टको चुक्ता पुँजी १० अर्ब ६२ करोड छ भने नविलको ८ अर्ब ४ करोड छ। दुवै बैंकले गत आवको वितरित बोनसलाई वित्तीय विवरणमा समेटेका छन्।
नविलले गत आवको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने इन्भेष्टमेन्टले १५ प्रतिशत सेयर बोनस तथा २५ प्रतिशत नगद दिएको छ।
नविल बैंकको जगेडा कोष ६ अर्ब ९० करोडको छ भने इन्भेष्टमेन्टको ८ अर्ब ९७ करोड छ। इन्भेष्टमेन्टले यसअघि जारी गरेको एफपिओका कारण उसको जगेडा कोष थप मजबुत बनेको हो।
इन्भेष्टमेन्टको नाफा बढी देखिए पनि प्रतिसेयर आम्दानीमा भने नविल बैंक अगाडि छ। नविलको वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १० पैसा छ भने इन्भेष्टमेन्टको ३३ रुपैयाँ ६९ पैसा छ। प्रतिसेयर आम्दानीमा नविल बैंक धेरै खस्किएको छ। गत वर्ष यही अवधिमा नविलको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६७ पैसा थियो। इन्भेष्टमेन्टको ३४ रुपैयाँ थियो।
बजारमा इन्भेष्टमेन्टभन्दा नविलको सेयर मूल्य झण्डै दोब्बर छ। बिहीबार अन्तिम कारोबार हुँदा नविलको प्रतिकित्ता मूल्य १२१५ तथा इन्भेष्टमेन्टको ६२८ रुपैयाँ छ।
मूल्य आम्दानी अनुपातका आधारमा इन्भेष्टमेन्ट बैंक लगानीयोग्य छ। अहिलेको मूल्यमा यस्तो अनुपात इन्भेष्मेन्टको १८. ६ तथा नविलको २९. ५ रहेको छ। यसको अर्थ बराबर प्रतिफलका लागि नविलको भन्दा इन्भेष्टमेन्टमा लागत सस्तो पर्दछ।
त्यस्तै कुल कर्जामा नविलको निश्क्रिय कर्जा १.११ प्रतिशत छ भने इन्भेष्टमेन्टको १. ०४ प्रतिशत छ। नविलको प्रतिसेयर नेटवर्थ १८६ तथा इन्भेष्टमेन्टको १८५ रुपैयाँ छ।
सिडि (क्रेडिट टु डिपोजिट) रेसियो अर्थात गणनायोग्य चुक्ता पुँजी तथा निक्षेपमा कर्जाको अनुपात नविलको ७५. ८ र इन्भेष्टमेन्टको ७५. ९ प्रतिशत छ।
फण्डमा लागत इन्भेष्टमेन्टको बढी देखिन्छ। इन्भेष्टमेन्टको ६ प्रतिशत छ भने नविलको ४. ८३ प्रतिशत छ।