ग्लोबल आइएमई र सिद्धार्थ बैंकको नाफा खस्किएको छ। नयाँ आवको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा दुबैको नाफा घटेको हो। यो वर्षको साउन, भदौ र असोज महिनामा ग्लोबल आइएमई बैंकले ३५ करोड ३२ लाख खुद नाफा कमाएको छ।
जवकि गत वर्षको यस अवधिमा बैंकको खुद नाफा ४२ करोड ९ लाख थियो। खुद व्याज र संचालन आम्दानी नै घटेपछि बैंकको नाफा प्रभावित भएको हो।
त्यस्तै सिद्धार्थ बैंकको नाफा १४ करोडले घटेको छ। गत वर्ष तीन महिनामा ३५ करोड ९६ लाख खुद नाफा कमाएकोमा यो वर्ष जम्मा २१ करोड ६४ लाखमा सीमित भएको छ। बैंकको चुक्ता पुँजी एक वर्षको अवधिमा ३ अर्ब ३७ करोडबाट ६ अर्ब ४ करोड पुगेको छ।
त्यस्तै ग्लोबल आइएमईको चुक्ता पुँजी ८ अर्ब ८ करोड पुगेको छ।
चुक्ता पुँजी बढाउँदै जाँदा पनि नाफा खस्किएपछि दुबै बैंकको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ। सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसामा झरेको छ। जवकि गत वर्ष ४२ रुपैयाँ ६३ पैसा थियो।
ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसामा झरेको छ। यो गत वर्ष २३ रुपैयाँभन्दा बढी थियो। ग्लोबलको जगेडा कोष ४ अर्ब ४२ करोड रुपैयाँको छ भने सिद्धार्थको ३ अर्ब ५८ करोड छ।