सेयर बजारमा दुई सातादेखि नेप्से परिसूचक हरियो अंकमा देखिन सकेको छैन। दुई सातादेखि बजार निरन्तर ओर्लिएको छ। कात्तिक ५ यता हरेक दिन रातो अंकमा रहेको नेप्से परिसूचक ४८ अंकले घटिसकेको छ।
कात्तिक ५ गते १५७१ अंकमा रहेको नेप्से गत बिहीबार १५२३ अंकमा झरेको छ। एक्सचेन्जमा यस साता १८१ कम्पनीहरुको दुई अर्ब २४ करोड रुपैयाँ बराबरको ६२ लाख ६६ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन्।
कारोबार रकम गत साताको भन्दा ३१.२७ प्रतिशत बढी हो। गत साता १७१ कम्पनीको एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले घटेर अन्तिम दिन १५२२ अंकमा पुगेको छ।
यस साता जलविद्युत, व्यापार र उत्पादनबाहेकका सबै उपसूचक ओर्लिएका छन्। जलविद्युत ९, व्यापार ०.६ र उत्पादन ११ अंकले बढे। वाणिज्य बैंक १६, विकास बैंक ४०, वित्त ५, होटल २९, बिमा ६६ र अन्य उपसूचक ४ अंकले घटे। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.५९ अंकले घटेर ३१९ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (११ करोड ३२ लाख ७० हजार रुपैयाँ) को आधारमा राष्ट्रिय विमा कम्पनी संस्थापक अग्रस्थानमा रहेको छ। नेपाल बंगलादेश, टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टड बैंक कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
कारोबार भएको सेयर संख्या (तीन लाख ५८ हजार कित्ता) को आधारमा ज्योती विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। कारोबार संख्या (२४२६ वटा) को आधारमा नेपाल ग्रामिण विकास बैंक अग्रस्थानमा रहेको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। साताभर माछापुच्छ्रे बैंक र गोर्खाज फाइनान्सको हकप्रद सूचीकृत भएको छ। त्यस्तै गुराँस लाइफको बोनस तथा ग्रामीण विकास बैंकको एफपिओ सेयर बजारमा थपिएको छ।