सेयर बजारको परिसूचक नेप्से २६ अंकले घटेको छ। साताको पहिलो दिन सो अंक घटेसँगै १४९६ अंकमा नेप्से अडेको छ।
बजार उच्च अंकले घट्दा कारोबार रकम भने बढेको छ। दैनिक सरदर ४० करोडको कारोबार हुने गरेको बजारमा यस दिन ६३ करोड पुगेको छ। १५९ कम्पनीको १५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। बजारको पुँजीकरण १७ खर्ब ३७ अर्ब कायम भएको छ।
यस दिन व्यापारबाहेकका सबै उपसूचक ओर्लिएका छन्। सो उपसूचक २ अंकले बढ्यो। बिमा सबैभन्दा धेरै १५७ अंकले घटेको छ। उत्पादन ५०, माइक्रोफाइनान्स ३०, अन्य ११, जलविद्युत २३, विकास बैंक २०, होटल ९ र बैंकिङ उपसूचक २४ अंकले घटेका छन्।
नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड १८ लाखको कारोबार भयो। कम्पनीको मूल्य घटेर प्रतिकित्ता १९१० कायम भएको छ।
त्यस्तै २ करोड ७१ लाखको कारोबार भएको नेपाल टेलिकम दोस्रो स्थानमा रह्यो। सो कम्पनीको मूल्य घटेर प्रतिकित्ता ८१७ कायम भएको छ। स्टान्डर्ड चार्डडको २ करोड ३३ लाख , इन्भेष्टमेन्ट बैंकको २ करोड ८ लाख तथा सनराइज बैंकको १ करोड ७२ लाखको सेयर किनबेच भयो।
समग्र बजारमा उच्च गिरावट आउँदा पनि समता माइक्रोफाइनान्सका लगानीकर्ताले ९ प्रतिशत नाफा कमाए। ङादी ग्रुप पावरको मूल्य ५ प्रतिशत तथा आरएसडिसी लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ।
स्वाभलम्वन विकास बैंकक लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत मूल्य गुमाए। प्रु्डेन्सियल इन्स्योरेन्स, गुराँस फाइनान्स, सनराइज बैंक तथा कैलाश विकासका लगानीकर्ताले ५ प्रतिशत बढी मूल्य गुमाए।
यसैबीच सिर्जना फाइनान्सले ३२. ५ प्रतिशत र एक्सल डेभलपमेन्टले ३० प्रतिशत बोनस सेयर दिने भएका छन्। दुवैले कर प्रयोजनार्थ नगद लाभांश पनि छुट्याएका छन्। नेपाल इन्भेष्टमेन्ट बैैंकले अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई नियुक्त भएको सूचना नेप्सेमार्फत सार्वजनिक गरेको छ।