रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीलाई लक्षित गरी ग्लोबल मनी एक्सप्रेस रेमिट्यान्स कम्पनी संचालनमा आएको छ।
छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनी एक्सप्रेस (जिएमई)को कोरियाका लागि नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहले उद्घाटन गरे।
ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउदै आएको भए पनि कोरियन सरकारको तर्फबाट प्राईभेट मनी ट्रान्सफर कम्पनीलाई पहिलो पटक स्वीकृति दिइएको हो।
कोरियामा ग्लोबल मनी एक्सप्रेसको स्थापनासँगै यसका शाखा तथा अनलाईनबाट सजिलै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने छ। पठाएको उक्त रकम ग्लोबल आइएमई बैंकका नेपालमा रहेका सम्पूर्ण शाखाहरु तथा ७ हजार भन्दा बढी एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिने कम्पनीको दावी छ।
उक्त औपचारिक समुद्घाटन समारोहमा बोल्दै कोरियाका लागि नेपाली राजदुत सिंहले जिएमईको स्थापनासँगै हाल विभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिरहेको रेमिट्यान्सलाई औपचारिक माध्यममा लैजान टेवा पुग्ने विश्वास व्यक्त गरे।
साथै उनले रेमिट्यान्स नेपाल पठाउने अनौपचारिक माध्यमहरुलाई निरुत्साहित गरी राष्ट्र निर्माणमा आ–आफ्नो तर्फबाट हातेमालो गर्न समेत कोरिया लगायत अन्य राष्ट्रमा रहेका नेपालीलाई आग्रह गरे।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्र बैकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इन्र्डिस्टिजका अध्यक्ष किरण प्रकाश शाँख लगायतले कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यममा ल्याउन यसले टेवा पुग्ने बताए।