लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिनेगरी धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ। सो व्यवस्था सम्वन्धमा सम्वद्ध संस्थाहरुलाई बोर्डले निर्देशन समेत जारी गरेको छ।
बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले मार्जिन कारोबारका लागि धितोपत्र बोर्डबाट बाटो खुला भएको बताउँदै अब यसलाई ब्रोकर कम्पनीहरुले कार्यान्वयनमा लैजाने बताए।
मार्जिन कारोबारको सुविधा पाएपछि लगानीकर्ताले खरिद गर्ने धितोपत्रमा आधाभन्दा बढी रकम ब्रोकरमार्फत सापटीको रुपमा लगानी हुने छ। त्यसका लागि खरिद हुने सेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकले सुरुमा ब्रोकर कम्पनीलाई तिर्नुपर्नेछ।
सो रकम भुक्तानी भएपछि ब्रोकरले बाँकी ५० प्रतिशत बराबरको रकम सेयरमा लगानी गरिदिनेछन्। यसरी लगानी गरेवापत अवधिअनुसार सेयरधनीले ब्रोकरलाई पुरा रकम नतिर्दासम्म सेवा शुल्क भने बुझाउनुपर्नेछ। हालसम्म ब्रोकरमार्फत मार्जिन सुविधा नहुँदा लगानीकर्तालाई सेयर धितो राखी बैंकमार्फत नै ऋण लिनुपर्ने बाध्यता रहँदै आएको छ।
कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध हुने घिमिरेले जानकारी दिए।
त्यस्तै मार्जिन कारोवार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था छ।
ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा दलाल व्यवसायीलाई सो शेयर विक्री गर्न सक्ने अख्तियारी दिइएको छ।
धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्न सक्ने छन् भने प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछन्।
धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको वढीमा १० प्रतिशत सम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्ने छन्।
मार्जिन कारोवार सुविधा उपलव्ध गराउँदा ग्राहकसँग सम्झौता गरी सुरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण लगायत शर्तरव्यवस्थाहरु भने व्यवसायीले खुलाउनुपर्नेछ।
यो सुविधा अन्तर्गत खरिद गरिएको शेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्ने, लेखापरिक्षण गरिएको कारोवार भएको शेयरको हिसाव किताव तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ।
हाल नेपाल राष्ट्र बैंकको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेण्डिङ्गको रुपमा रहेको शेयर धितो कर्जा यथावत रहने छ भने यस निर्देशनबाट मार्जिन कारोवार सम्बन्धमा स्पष्ट रुपमा नीतिगत व्यवस्था भई मार्जिन कारोवार सुविधा कार्यान्वयनमा आई दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डले विश्वास लिएको छ।