अधिकांश बैंकको नाफा खस्किँदा स्टान्डर्ड चार्टड बैंकको भने १४ करोडले बढेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ करोड २५ लाख खुद नाफा कमाएको छ।
जवकि गत वर्षको यस अवधिमा ३४ करोड ९४ लाख कमाएको थियो। बैंकको खुद व्याजवापत र संचालन आम्दानी बढ्दा नाफालाई टेवा पुगेको छ। व्याजवापतको आम्दानी २० करोडले बढेको छ भने संचालन आम्दानी २१ करोडले बढेको छ।
बैंकको चुक्ता पुँजी ४ अर्ब पुगेको छ। गत आवको नाफा तथा जगेडा कोषबाट शत प्रतिशत बोनस दिएर बैंकले ८ अर्ब पुर्याउने लक्ष्य लिएको छ।
बैंकको नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि धेरै हदसम्म सन्तुलनमा देखिएको छ। २ अर्ब ८१ करोडको चुक्ता पुँजीलाई ४ अर्ब बनाउँदा प्रतिसेयर आम्दानी ४८ रुपैयाँ १८ पैसा छ। यो गत वर्ष ४९ रुपैयाँ ७० पैसा थियो।
बजारमा कम्पनीको मूल्य प्रतिकित्ता २ हजार रुपैयाँको हाराहारीमा छ। जसले गर्दा प्रतिफलका लागि कम्पनीको मूल्य उच्च देखिन्छ। मूल्य आम्दानी अनुपात ४५ छ।
प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ। एफपिओ जारी गरेको कम्पनीको जगेडा कोषको आकार ८ अर्ब ५५ करोड रुपैयाँको छ। कम्पनीको निश्क्रिय कर्जा पनि घटेको छ। गत वर्ष ०. ३१ प्रतिशत रहेकोमा अहिले ०. १८ मा झरेको छ।