देश चुनावको मुखमा छ। चुनावपछि सेयर बजारमा उत्साह थपिनेछ। चुनावले गर्दा ठूलो रकम बजारमा चलायमान हुँदैछ। यसले पुँजी बजार अछुतो रहँदैन। धेरै रकम बजारमा आइसकेपछि त्यसले व्याजदर घटाउन मद्दत पुग्छ, संभवतः माघदेखि नै घट्न थाल्छ।
अर्कोतर्फ यो चुनावपछि मुलुकमा राजनीतिक स्थिरता थपिनेछ। हिजोका दिनमा जस्तो खर्च नहुने परिपाटी अब रहँदैन। विकास खर्च समयमै हुँदा बजारमा तरलता पर्याप्त हुन्छ।
पछिल्लो समय केही लगानीकर्ता अक्सन मार्केटतिर तानिएका छन्, भने केही ठूला लगानीकर्ता चुनावकेन्द्रित पनि भएका छन्। भएका केहीले यही मौकामा हल्ला गरेर मूल्य झारेर किन्ने प्रयत्नमा लागेको देखिन्छ।
‘बैंकहरुको नाफा अब बढ्दैन, पुँजी पुगिसक्यो सेयर बोनस दिँदैनन्, पर्याप्त सेयर आपूर्ति भएकाले बजार अझै घट्छ’ भनेर साना लगानीकर्तालाई त्रसित पार्ने काम भइरहेको छ। यसरी हल्ला गर्नेमा केही ब्रोकरहरु पनि संलग्न छन्। किन्न जानेलाई अहिले घट्छ नकिन्नुहोस् भनेर हल्ला गरिदिन्छन्, तर आफ्ना सर्कलका मान्छेसँग मिलेमतो गरेर किनिदिने गरेको पाइन्छ।
निश्चित सेयर संख्या पुगिसकेपछि, अब किन्नुपर्छ भनेर हल्ला गरेर महँगो बनाएर त्यही हिजो किनेको सेयर बेच्ने काममा उनीहरु सक्रिय रहन्छन्। यसले गर्दा बजार घट्दा धेरै घट्ने र बढ्दा पनि अस्वभाविक हुने गरेको देखिन्छ।
अर्को कुरा नियामक निकाय संवेदनशिल नहुँदा पनि अहिले बजार घटेको हो। जस्तो अब कात्तिक २१ गते अनलाइन ट्रेडिङ सिस्टम ल्याउने भनेर यसअघि नेप्सेले पत्रकार सम्मेलनबाटै सार्वजनिक गर्यो। त्यसै दिन अर्को पत्रकार सम्मेलन गरी काम भइरहेको छ, २०७५ असारभित्र जसरी पनि लागू गर्छौँ भन्यो। यो गैह्रजिम्मेवारपनले पनि लगानीकर्ता अत्तालिन पुगे।
पुँजीबजार लगानीकर्ता संघले जतिसक्यो चाँडो कार्यान्वयन गर्न दवाव दिइरहेको छ। हाम्रो दवाव भनेको विकासका लागि जे जे काम भइरहेका छन् त्यो सार्वजनिक गर भन्ने नै हो।
पछिल्लो पटक बोर्डले ब्रोकर कम्पनीमार्फत मार्जिन लेन्डिङको व्यवस्था गर्नेगरी कार्यविधि बनाइसकेको छ। जुन बजारका लागि एउटा सकारात्मक पक्ष हो।
अहिले सस्तो मूल्यमा बेचेकाहरु पछि महँगिदा अचम्मित पर्नेछन्। राजनीतिक स्थिरतापछि ‘ओ हो यो मूल्यमा पनि सेयर घटेको थियो र ?’ भन्ने भान उहाँहरुलाई पर्नेछ।
त्यसकारण बजार घट्दा आत्तिने होइन, बरु किन्न सक्ने अवस्था भएमा औसत लागत मूल्य घटाउनु बुद्धिमानी हुन्छ। अहिले बजारमा लगानी बढाउने बेला हो। रिटर्न मात्रै हेर्दा पनि कतिपय कम्पनी एकदमै उपयुक्त मूल्यमा आएका छन्।
जलविद्युत, फाइनान्स, बैंकिङ, माइक्रोफाइनान्स, उत्पादनमूलक लगायत हरेक सेक्टरका राम्रा राम्रा कम्पनीको सेयर किनेर उपयुक्त पोर्टफोलियो बनाएर बस्ने बेला यही हो। अझ म त भन्छु कर्जा नै लिएर लगानी गर्दा पनि यस्तो बेला नोक्सान पर्दैन, कर्जा लगानी गरेर ढुक्क भएर बस्ने बेला यही हो।
‘अब घट्यो, बर्बादै हुन्छ’ भन्ने मानसिकता लगानीकर्ताले कहिल्लै बोक्नु हुँदैन। यस्तो मान्यता लिनेहरु धेरै हार खाइसके। यस्तो मान्यता लिने हो भने बजारमा नछिरेकै राम्रो। अहिले बजारमा प्राविधिक तथा सैद्धान्तिक अध्ययन गरेर आउनेहरु बढेका छन्। हिजोकोजस्तो परम्परागत हल्लाका भरमा आउनेहरु हुँदैनन्। कुनै दिन फेरि बजारले नयाँ इतिहार रच्नेछ।
कतिपयले सेयर बजारलाई पनि सिजन र अफसिजनका रुपमा छुट्याएको पाइन्छ। चैतसम्म तेस्रो त्रैमासको विवरण आउने र सोअनुसार लाभांशको अनुमान गरी खरिद गर्नेहरु पनि छन्। त्यही भएर त्यो महिनालाई सिजन भन्ने गरिएको हो। तर अहिले त के छ भने अफसिजनमै पनि अति न्यून बिन्दुमा आइसक्यो। आगामी दिनमा यो मूल्यमा नपाइन पनि सक्छ। बैंकको मुद्दति खाताको प्रतिफल भन्दा पनि सेयरबाटै फाइदा हुने अवस्थामा घटिसकेको छ।
अहिले जुन मूल्यमा पाइएको छ, किन्दै जानुपर्छ। जो पुँजी बजारमा छिर्न खोज्नुभएको छ, उहाँहरुले पनि क्रमिक रुपमा किन्दै जाँदा हुन्छ।
बजारमा लगानी गर्दा पनि एकै दिन सबै रकमको सेयर किन्ने होइन। आज अलिकति, भोलि घट्दा फेरि थप्नेगरी क्रमिक रुपमा किन्दा जोखिम न्यून हुन जान्छ।
बैंकहरुको पहिलो त्रैमासको नाफा खुम्चिँदैमा लगानीकर्ता आत्तिनु पर्दैन। तरलताको अभाव भएका बेला बैंकहरुले महँगो व्याजदर तिर्नेगरी निक्षेप उठाए, त्यसैको प्रभावले लागत बढ्न जाँदा नाफा खुम्चिएको हो। उठाएको अधिकांश निक्षेपको परिपक्व अवधि पुस/माघतिरै सकिन्छ।
त्यसपछि आधार व्याजदर केही तल आउला, स्वभाविक रुपमा बैंकहरुको नाफा आगामी दिनमा बढ्छ। किनकि चुक्ता पुँजी ४ गुणा बढेको छ, त्यसको प्रभाव त व्यवसायमा देखिने नै हो। एकैपटक नाफा चार गुणा बढ्छ भन्ने पनि होइन। तर विस्तारै ‘पिक अप’ त लिइहाल्छन्।
अर्कोकुरा नियामकहरु अब पुँजी बजारको शिक्षा दिनका लागि लाग्नुपर्यो। बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्यो। अहिलेका लगानीकर्तालाई यिनै ब्रोकरले धानिहाल्छन् भनेर गलत रिपोर्टिङ गरिएको छ। त्यो होइन, प्राविधिक रुपमा बजारलाई थप मजबुत बनाउन बैंकहरुलाई लाइसेन्स जरुरी छ।
एनआएनलाई प्रत्येक्ष रुपमा लगानीको वातावरण बनाउनुपर्यो। अनलाइन टे«डिङ चाँडो थाल्नुपर्यो। अहिलेको ब्रोकर कमिसन ज्यादै महँगो हो, त्यो घटाउनुपर्यो। भारतमा जस्तो निश्चित शुल्क तिरेपछि वर्षैपिच्छे कारोबार गर्न पाइने व्यवस्था ल्याए पनि भयो अथवा अहिलेको अवस्थामा ब्रोकर कमिसन उच्चतम भनेको ०. २५ प्रतिशत मात्रै हुनुपर्छ। अनि मात्रै नेपालमा पुँजीबजारको विकास भएको मानिन्छ।
तस्वीरः नारायण महर्जन/सेतोपाटी