ज्योति लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी २ अर्ब कायम गर्न सर्वसाधारणका लागि ६६ करोड रुपैयाँको सेयर जारी गर्ने भएको छ। अधिकृत पुँजी ३ अर्ब रहेको ज्योतिको जारी पुँजी २ अर्ब २० करोड छ। संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी जुटाइसकेको छ।
यसैबीच कम्पनीले बनेपाबाट पनि आफ्नो सेवा सुरु गरेको छ। असोज ८ गतेबाट नियमित व्यवसाय थालेको यसले बनेपामा शाखा विस्तार गरेको हो। योसहित कम्पनीका शाखा संख्या १४ पुगेको छ।
उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक र सुर्यविनायक तथा उपत्यका बाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ र टिकापुरमा कम्पनीको यसअघि नै शाखा संचालनमा आएका छन्।
यसपश्चात काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत आसपासका क्षेत्रमा बीमा साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा अग्रसर हुने कम्पनीले जनाएको छ। निकट भविष्यमा नेपालगञ्ज, जनकपुर तथा विराटनगरबाट सेवा शुभारम्भ गर्ने बताइएको छ।
एनआइसी एसिया बैंकसहित संस्थागत तथा व्यक्तिगत गरी कम्पनीको प्रबद्र्धकमा ४२ सदस्य छन्। रजिष्टर्ड कार्यालय पोखरा र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौमा रहेको यसले हाल ५ वटा जीवन बीमा योजना जारी गरी सेवा प्रदान गरिरहेकोे छ।
कम्पनीको अध्यक्ष उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका हुन्।