अब विदेश जाँदा तपाईले मुद्रा कहाँ साट्ने, कति साट्ने, शुल्क कति तिर्नेजस्ता सटही समस्याको चिन्ता लिनु नपर्ने भएको छ।
बैंकहरुले विभिन्न १६ देशका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने व्यवस्था गरेका छन्।
पहिलो चरणमा सेन्चुरी र लक्ष्मी बैंकले यस्तो 'मल्टिकरेन्सी' कार्डको सुरुआत गरेका छन्। भारतीय एक्सिस बैंकसँगको सहकार्यमा ति बैंकले यस्तो कार्डको थालनी गरेका हुन्।
लक्ष्मी बैंकका कार्ड डिपार्ट प्रमुख सुमनप्रसाद गेलालका अनुसार अबको २ महिनापछि यस्तो कार्ड खोज्ने ग्राहकले पाउने छन्।
ग्राहकले बैंकबाटै यस्तो कार्ड लिएपछि विभिन्न १६ देशमा जाँदा सहजै राष्ट्र बैंकले तोकेअनुसारको सीमामा रही मुद्रा प्रयोग गर्न सक्ने उनले बताए।
सेतोपाटीसित कुराकानी गर्दै उनले भने ‘जुन देशमा जान चाहनुहुन्छ, त्यो देशको मुद्रा तोकिएको सीमाभित्र बैंकले कार्डमा लोड गरिदिन्छ, विदेशमा पुगेपछि त्यो खर्च गर्न सकिनेछ।’
यसको शुल्कको सम्वन्धमा भने अहिले टुङ्गो नलागेको बैंकले जनाएको छ। एउटा देशबाट फर्किएर पुनः अर्को देशमा जाँदा पनि सोही कार्डमा त्यसैगरी सम्वन्धित देशको मुद्रा लोड हुने उनले बताए।
यसले विदेशी मुद्रा अभाव झेलिरहेका ग्राहकलाई राहत हुने बैंकको भनाइ छ। त्यस्तै महँगो शुल्क दुई पटक बिनिमय गर्नुपर्ने समस्या पनि हट्ने भएकाले यसको प्रयोग बढ्ने गेलालको विश्वास छ।
अमेरिकी डलर सटही गरेर पुनः सम्वन्धित देशको मुद्रा सटही गर्दा हुने बिनिमय खर्च यसले हटाउने छ।
‘जापान जान चाहनेले पहिले डलर सटही गरेर, फेरि यन लिनुपर्ने वाध्यता अब रहँदैन’ गेलालले भने ‘यन, यूरो, अष्टे«लियन डलर लगायत १६ मुद्राको सटही कार्डबाटै हुनेछ।’
त्यस्तै यसबाट बीचमा रकम चोरी हुने वा हराउने समस्या पनि हट्ने छ।