सानिमा बैंकको कोष प्रवद्र्धन रहेको ‘सानिमा म्युचुअल फण्ड’मा लगानी अवसर खुलेको छ।
इच्छुक लगानीकर्ताले आगामी मंसिर १२ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कुल १२ करोड इकाईमध्ये १० करोड २० लाख सर्वसाधारणका लागि खुलाइने भएको हो। १ करोड ८० लाख इकाई सानिमा बैंक तथा क्यापिटललाई छुट्याएर बाँकी निश्कासन गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ।
यसमा न्यूनतम १ सय इकाईका लागि दरखास्त दिनुपर्नेछ भने अधिकतम सीमा २४ लाखसम्म तोकिएको छ। प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ।
बन्दमुखी यस योजनाको अवधि ७ वर्षको छ। आस्बा प्रणालीबाट खाता भएको बैंक तथा वित्तीय संस्थाबाटै लगानीकर्ताले आवेदन दिन पाउने छन्।
यसैबीच अन्य ४ म्युचुअल फण्ड धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन्। ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, सिटिजन्स म्युचुअल फण्ड १, एनआइसी एसिया ग्रोथ फण्ड र एनआइबिएल सहभागिता फण्ड स्वीकृतिको पर्खाइमा छन्।
यी कम्पनीले कुल ३ अर्ब ७० करोड रुपैयाँको ३७ करोड इकाई जारी गर्नेछन्। यीमध्ये ग्लोबलले १२ करोड, सिटिजन्स तथा एनआइसीले १०–१० करोड र एनआइबिएलले ५ करोड इकाई जारी गर्नेछन्।
म्युचुअल फण्डमा लगानी गर्नका लागि धेरै विज्ञताको जरुरत पर्दैन। सेयरमाजस्तो लगानीका लागि धेरै सूचनाहरु यसमा लिइरहनु नपर्ने र थोरै रकम पनि धेरै कम्पनीमा बाँडिएर लगानी हुने भएकाले साना लगानीकर्तालाई पनि म्युचुअल फण्ड उपयुक्त रहेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना बताउँछन्।
विज्ञहरुले आफ्नो विज्ञताको भरपुर उपयोग गर्दै ‘पोर्टफोलियो’ लगानी गर्ने हुँदा लगानीकर्ताको थोरै रकम पनि धेरै कम्पनीमा लगानी व्यवस्थित हुन्छ। यिनै कारणले पछिल्लो समय म्युचुअल फण्डमा लगानी आकर्षित हुँदै गएको छ।
हालसम्म विभिन्न १२ म्युचुअल फण्डका योजना जारी भइसकेका छन्। सिद्धार्थ बैंकको कोष प्रवद्र्धनमा तीन वटा फण्ड जारी भएका छन् भने लक्ष्मी, नविल र इन्भेष्टमेन्ट बैंकको प्रवद्र्धनमा २–२ वटा योजना जारी भएका छन्। त्यस्तै ग्लोबल आइएमईको एउटा छ।
यी १२ मध्ये सिद्धार्थको ‘इक्वीटी फण्ड’ सूचीकृत हुन बाँकी छ। इक्वीटी ओरियन्टेड र इन्भेष्टमेन्ट ग्रोथ स्कीम सूचीकृत भएका उसका पुराना योजना हुन्।
एनएमबिको हाइब्रीड फण्ड तथा सुलभ इन्भेष्टमेन्ट फण्ड जारी भएका योजना हुन्। लक्ष्मीको इक्वीटी फण्ड तथा भ्यालु फण्ड, नविलको व्यालेन्स फण्ड तथा इक्वीटी फण्ड, इन्भेष्टमेन्टको एनआइबिएल प्रगती फण्ड तथा सम्वृद्धि फण्ड र ग्लोबल आइएमईको समुन्नत बजारमा सूचीकृत भएका थप योजना हुन्।