पहिलो चरणको चुनावअघि अन्तिम कारोबार भएको दिन बिहीबार नेप्से परिसूचक बढेको छ।
१३ अंकले बढेर नेप्से १४९३ अंकमा कायम भएको छ। चुनावपछि राजनीतिक स्थिरता हुने लगानीकर्ताको अपेक्षापछि बजार बढ्नलाई टेवा पुगेको हो।
अब चुनावपछि मात्रै सेयर बजार खुल्ने भएकाले यस दिन सेयर खरिद गर्नेहरु सक्रिय रहे। जसले गर्दा बजारको परिसूचक मात्रै नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
अघिल्लो दिन ३४ करोडको कारोबार भएकोमा आज ६८ करोड ५७ लाख पुगेको छ। १६५ कम्पनीहरु यस दिन कारोबारमा रहे। बजारको पुँजीकरण १७ खर्ब ३५ अर्ब कायम भएको छ।
व्यापारबाहेकका सबै उपसूचक बढेका छन्। व्यापार ३ अंकले घट्यो। बैंकिङ १०, होटल २२, विकास बैंक २२, जलविद्युत ४६, फाइनान्स ९, बिमा २६, उत्पादन १५, अन्य ४ र माइक्रोफाइनान्स उपसूचक २४ अंकले बढेका छन्।
साना किसान विकास बैंकको संस्थापकतर्फको सेयरको सबैभन्दा बढी रकम २१ करोड ९९ लाखको कारोबार भयो। बुटवल पावरको २ करोड ८१ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, साना किसान विकास बैंक (साधारण) तथा सिटिजन्स बैंकको २–२ करोडभन्दा बढी रकमको कारोबार भयो।
सिनर्जी पावर तथा मिथिला लघुवित्तका लगानकर्ताले सबैभन्दा धेरै ८ प्रतिशत नाफा कमाए। नयाँ नेपाल लघुवित्त, हिमालय पावर पार्टनरका लगानीकर्ता पनि कमाउनेमा अगाडि देखिए।
हिमालयन जनरल इन्स्योरेन्स तथा सप्तकोसी विकास बैंकका लगानीकर्ता गुमाउनेमा अगाडि रहे। ति लगानीकर्ताले ३ प्रतिशत बढी गुमाए।
हिमालयन डिस्टिलरीको कारोबार रोकिएको छ। मिर्मिरे माइक्रोफाइनान्सले ३०. ८ प्रतिशत बोनस सेयर दिने जनाएको छ। युनाइटेड मोदीले ५ प्रतिशत नगद लाभांश दिने भएको छ।