गरिमा विकास बैंकले न्यानो कपडा बाँडेर ११ औं वार्षिकोत्सव मनाएको छ।
स्थापनाको १० औं वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले काठमाडौं, तनहुँ, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अति विपन्नहरुलाई लत्ता कपडा बितरण गरेको हो।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्नलाई न्यानो कपडा वितरण गर्यो।
चितवन तथा तनहुँ जिल्ला अन्तर्गतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिक, स्याङ्गजा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौरस्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकलाई बैंकले लत्ता कपडा बितरण गरेको हो।
न्यानो कपडा वितरणसंगै विकास बैंकले ती आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाएको छ। पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले व्यवसाय विस्तारको तीब्रता सँगसँगै आफूहरु सामाजिक उत्तरदायित्वमा केन्द्रित हुने बताए।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो। पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ।
बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ। बैंकले करिब १६ अर्ब ५० करोेड निक्षेप संकलन गरी १४ अर्ब ६० करोड कर्जा लगानी गरेको छ।