पुँजी बजारमा यो साता पछिल्ला तीन कारोबारहरुमा सूचक हरियो देखियो। मंगलबार, बुधबार र बिहीबारका कारोबारहरुमा लगानीकर्ताहरुले केही राहतको महसुस गर्न पाएको देखिन्छ।
बिहीबार सूचकसँगै कारोबार रकममा पनि केही सुधार आएको देखिन्छ। बजारको भोल्युमअनुसार टर्नओभर भने सन्तोषजनक देखिँदैन। किनकि बजार पुँजीकरण र बजारको आकार अनुसार अहिले सूचकमा देखिएको सुधार र कारोबार रकम हेर्दा बजार बलियो बनिसक्यो भन्न सकिने अवस्था छैन।
गत वर्ष ऐतिहासिक १८८१ विन्दु चुमेर वियरिस लय समातेको सेयर बजार लामो समय उतावचढावपुर्ण क्षण पार गरिसक्दा पनि अपेक्षित सुधार आउन सकिरहेको छैन।
उच्चतम विन्दुमा बजार प्रवेश गरेका लगानीकर्ताहरु बजारमा देखिएको लामो वियरिस ट्रेण्डले थलिएका छन्। केही लगानीकर्ता घाटामै सेयर बेचेर बाहिरिए पनि बजारको लय सुधारिने आशमा आफ्नो पोर्टफोलियो होल्ड गरेर बसेका लगानीकर्ताको सङ्ख्या धेरै रहेको देखिन्छ।
अझ बजारको उच्च विन्दुमा सेयर खरिद गरेका लगानीकर्ताको पोर्टफोलियो हकप्रद र बोनस सेयर समायोजन गरेपछि पनि ‘लस’मा रहेको छ। तसर्थ बजारमा देखिएको ग्रिन सिग्नल ले उनीहरुलाई केही राहत मिले पनि बजारको गतिलाई हेर्दा तत्काल लगानी सुरक्षित गर्ने सम्भावना भने कम छ।
बजारमा घट्ने र बढ्ने चक्रलाई सामान्य मानिए पनि सामान्यतया सेयर बजारको सिजन मानिने वर्तमान समयमा बजारमा देखिएको मन्दीले धेरैलाई दवाव सृजना गरेको छ। कसिलो ब्याजमा मार्जिन लेण्डीङ लिएका लगानीकर्ताहरु अहिले ‘ट्रयाप’मा परेका छन्।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमले पनि बजारलाई प्रभावित पारेको देखिन्छ। माओवादी केन्द्र र नेकपा एमाले लगायतका दलहरुले बलियो कम्युनिष्ट केन्द्र बनाउने दिर्घकालीन लक्ष्य सहित चुनावी तालमेलको घोषणा गरेपछि लगानीकर्ताहरु विच्किन पुगे। पुँजी बजारलाई कम्युनिष्ट नेतृत्वले लगाम लगाउँछ भन्ने हल्लाकै कारण लामो समय खस्किएको बजार झापाबाट केपी ओलीले आश्वस्त पार्न खोजेपछि केही सम्हालिएको थियो।
यद्यपी वामपन्थी नेतृत्वसँग बजारले देखाउने मनोविज्ञान तथ्यगत रहेको पाइँदैन। किनकि वामपन्थी पार्टीहरुका घोषणापत्र तथा योजनाहरुमा सेयर बजारलाई अंकुश लगाउने कुनै निती कार्यक्रमहरु छैनन्। बरु यस अघिका वामपन्थी सरकारको पालामै सेयर बजारमा फड्को आउने गरेको थियो।
पछिल्लो समय १८८१ को ऐतिहासिक रेकर्ड पनि केपी ओलीले सरकारको नेतृत्व गर्दा नै पुगेको थियो। त्यसकारण बजारमा देखिएको पछिल्लो वामपन्थी ‘फोविया’मा लगानीकर्ताको कमजोर मनोविज्ञानले भूमिका खेलेको देखिन्छ। त्यस्तै राष्ट्र बैंकले तरलता अभाव समाधान भयो भनेर भनिरहँदा बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा सहज रुपमा प्रवाह नगर्दा पनि त्यसको असर बजारमा परेको देखिन्छ।
त्यसैगरी ब्याजदरमा अपेक्षित कमी आउन नसक्दा चर्को ब्याजदरमा लगानी गर्न लगानीकर्ताहरु हच्किरहेका छन्। बजारमा अल्पकालीन लगानीकर्ता हावी हुनु, ठूला तथा संस्थागत लगानीकर्ताहरुले रक्षात्मक लगानी गर्नु, नया लगानीकर्ता भित्रिन नसक्नु, अनलाईन प्रणालीको समयावधि पछाडी धकेलिनु, मार्केट मेकरको अभाव, एनआरएनबाट लगानी गर्ने वातावरण बन्न नसक्नु जस्ता कारणहरुले पनि बजारमा उत्साह आउन सकेको छैन। लगानीकर्तामा सेयर शिक्षाको अभावले देखिएको अन्यौलता र कमजोर मनोविज्ञानले पनि बजारमा सकारात्मक वातावरण बन्न सकेको छैन।
तर बजारमा लामो समय प्यानीक अबस्था आउनुका पछाडि माग र आपूर्तिको असन्तुलन नै प्रमुख कारक तत्व रहेको पाइन्छ। राष्ट्र बैंक, बिमा समिति जस्ता नियामकहरुको पुँजीवृद्धि नीतिले सूचीकृत कम्पनीहरुबाट भारी मात्रामा हकप्रद, एफपिओ तथा बोनस सेयर वितरण गरेपछि बजारमा सेयरको सङ्ख्या धेरै गुणा बढेको छ।
लाखौँ कित्ता नयाँ सेयरहरु बजारमा थपिएका छन्। तर त्यसअनुसारको माग सृजना हुन सकिरहेको छैन। यसरी मागभन्दा आपूर्ति हावी हुँदा बजार स्वभाविक रुपमा कमजोर देखिएको छ।
बजारमा आपुर्तिको चाप बढी भएकोले पनि अहिले देखिएको सुधार धेरै टिक्न सक्ने स्पष्ट आधारहरु देखिएका छैनन्। बजार विस्तार अन्तरगत देशका मुख्य शहरहरुमा ब्रोकरका शाखाहरु खोलिए पनि ति पर्याप्त छैनन्। नियामकहरुबाट सेयर बजार सम्बन्धी जनचेतना जगाउने, सेयरमा लगानी गर्न प्रोत्साहन गर्ने जस्ता काम नहुँदा लगानीकर्ताहरु अलमलमा परेका छन्।
तसर्थ बजार बलियो बनाउनको निम्ति माग सृजना गर्ने काम सरकार तथा सरोकारवाला निकायको प्रमुख प्राथामिकतामा पर्नु जरुरी छ। जसको लागि देशैभरीबाट सेयर कारोबार गर्न सक्ने संयन्त्रको विकास गर्नु जरुरी छ।
स्वचालित प्रणाली लगायतका अन्य प्राविधिक, भौतिक तथा नीतिगत सुधारका काममा सरकारले चासो देखाउनै पर्छ। देश राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको यात्रामा अगाडि बढीरहँदा पुँजी निर्माण तथा परिचालनको मुख्य चेम्बरको रुपमा रहेको पुँजी बजारको विकास, विस्तार र विविधिकरणमा सरकार गम्भिर बन्नुपर्ने देखिन्छ।
बजार घट्नु वा बढ्नु पुँजी बजारको सुन्दरता हो। त्यसैले बजार घट्दैमा आत्ति हाल्नुपर्ने त होइन। पछिल्लो समय बजार कमजोर बन्नुमा सहायक कारणहरु अरु देखिए पनि प्रमुख कारण अधिक आपुर्ति नै हो। त्यसकारण पनि अहिलेको सुधार दिर्घकालीन रुपमा अगाडि जान्छ भनेर भन्न सकिने अवस्था देखिँदैन। सुधारको संर्घषमा रहेको बजारमा अब नियामकको भरपर्दो उपस्थिति र सकृयताले मात्र टेवा मिल्न सक्ने देखिन्छ।