साताभर सेयर बजारको परिसूचक १७ अंकले उक्लिएको छ। पहिलो दिन आइतबार १४७५ अंकमा रहेको परिसूचक अन्तिम दिन बिहीबार १४९३ अंकमा कायम भएको छ।
अघिल्लो साताको तुलनामा भने यो ४ अंकले मात्रै बढी हो। अघिल्लो साता १४८९ अंकमा सेयर बजार अडेको थियो। यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको दुई अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबार रकम अघिल्लो साताको भन्दा २३ प्रतिशत कम हो। अघिल्लो साता १८० कम्पनीहरुको दुई अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो। यो साता सबै सूचकहरु बढेका छन्।
वाणिज्य बैंक उपसूचक १६, विकास बैंक २०, वित्त २, लघुवित्त २३, होटल ४६, जलविद्युत ५९, उत्पादन ०.६ तथा व्यापार ०. ६ अंकले बढेका छन्।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.८३ अंकले बढेर ३१४.४३ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (२१ करोड ९९ लाख २० हजार रुपैयाँ) को आधारमा साना किसान विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टड तथा सिभिल बैंक कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ७२ हजार कित्ता) को आधारमा सिभिल बैंक अग्रस्थानमा रह्यो। कारोबार संख्या (१४५० पटक) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रह्यो।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।
माछापुच्छ्रे, लक्ष्मी, वेष्टर्न डेभलपमेन्ट, राप्तीभेरि विकास बैंकका थप सेयर बजारमा सूचीकृत भएका छन्। अरुण भ्याली हाइड्रोको बोनस सेयर सूचीकृत भएको छ।