पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो।
एक सय अङ्कित ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए। शेयर निष्कासन गर्न आवेदन गरेको पाँच महिनापछि बोर्डबाट स्वीकृत भएको कम्पनीले जनाएको छ।
बोर्डको स्वीकृतिसँगै शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटलले सूचना जारी गरेर शेयर बिक्री खुलेको जानकारी गराउने उनले बताए। कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि सञ्चालनमा छ। रासस