नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार सम्वन्धी नियमावली तयार गरेको छ। बोर्डलाई नियमनको जिम्मेवारी दिइए बमोजिम उसले नियमावली तयार गरेको हो।
नेपालमा तीन बस्तु बिनिमय बजार अर्थात कमोडिटी एक्सचेन्ज संचालनमा छन्। ति कम्पनीहरुले पनि बोर्डले तोकेको नयाँ नियमावलीअनुसार पुनः स्वीकृति लिनुपर्नेछ।
नियमावलीअनुसार ५० करोड पुँजी पुर्याउने कम्पनीले मात्रै बस्तु बिनिमय बजार संचालन गर्न पाउने छ। जुन पुँजीमा प्रतिव्यक्ति ५ प्रतिशत बढी हिस्सा रहनु हुँदैन।
बस्तु विनिमय बजार संचालन गर्न चाहने कम्पनीले बोर्डसमक्ष २५ हजार रुपैयाँ शुल्कका साथमा पूर्व स्वीकृतिका लागि निवेदन दिनुपर्नेछ। बोर्डले उपयुक्त ठानी स्वीकृति दिएपछि मात्रै संचालनको अनुमति प्रदान हुनेछ।
त्यसका लागि बोर्डले केही पूर्वाधार, संचालकहरुको योग्यता, कार्यकारी प्रमुखको योग्यतासहितका व्यवस्था गरेको छ। यी तोकिएका व्यवस्थामा बोर्डले जाँचबुझ गरेर मात्रै स्वीकृति दिनेछ।
बस्तु विनिमय बजारको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर अनुमतिपत्र प्राप्त गरेको मितिले ३ वर्षसम्म बिक्री वा नामसारी गर्न सक्ने छैन। त्यस्तै विदेशी लगानीकर्ता भएमा बढीमा ५१ प्रतिशत सेयर स्वामित्व लिन सक्नेछ।
संचालक, कार्यकारी अधिकृतको नियुक्त तथा योग्यता पनि तोकिएको छ। बस्तुको कारोबार गर्नुअघि बस्तु विनिमय बजारले ति बस्तुको कारोबारसम्वन्धी करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्नेछ।
बस्तु कारोबार दलालले ग्राहकको आदेशअनुसार ग्राहकको नामबाट मात्रै बस्तु खरिद वा बिक्री गरी दलाली सेवा प्रदान गर्नेछ। त्यस्तै वेयर हाउस अर्थात बस्तु भण्डारणस्थलका सम्वन्धमा पनि कार्यविधि तयार गरी बोर्डमा पठाउनुपर्नेछ।
बस्तुको नाम, इकाई, परिमाण, स्तर, राख्ने समय, भण्डारण शुल्क, भुक्तानी दिने समय समेत यसमा उल्लेख गर्नुपर्नेछ। बस्तु भण्डारण भएपछि त्यसको हस्तान्तरणका समयमा वस्तुको स्तरमा परिवर्तन आउन नदिन अपनाउनुपर्ने उपाय पनि स्पष्ट खुलाउनुपर्नेछ।
बस्तु विनिमय बजारले कारोबार गर्दा मूल्य तथा समय प्राथमिकताको आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकबाटै रकमको कारोबार गर्नुपर्ने, कारोबार भएको बस्तुको मूल्यमा ० दशमलव ०१ प्रतिशतभन्दा बढी नहुनेगरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ।
के हो बस्तु विनिमय बजार ?यो बजारमा सुन, चाँदी, तामा, कच्चा तेल, कपास, कफी जस्ता वस्तुहरूको करारमा कारोबार हुने गर्छ। क्रेता र विक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ। त्यस्ता कारारको भौतिक हस्तान्तरण तथा नगदमा समेत राफसाफ हुने व्यवस्था हुन्छ। यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन्।
यो बजारमा वस्तुहरूको माग र आपूर्तिको आधारमा वस्तुको करारको मूल्य आविष्कार हुन्छ। सामान्यतया यस्तो बजारमा प्राकृतिक कच्चा (तयारी वस्तुबाहेक) धातु, ऊर्जा तथा कृषिजन्य वस्तुको कारोबार भएता पनि बदलिँदो परिदृश्यमा ब्याजदर, मुद्रा तथा सूचाङ्कजस्ता वस्तुहरूमा समेत कारोबार हुँदै आएको छ।
वस्तु बजारमा कारोबारीले वस्तुको मूल्यमा हुने उतार चढावबाट सृजित जोखिम न्यूनीकरण गर्न तथा उक्त उतारचढावबाट फाइदा लिन वा दुई बजार (सोभन्दा बढी)बीच कहिलेकाहीँ हुन सक्ने मूल्य फरकबाट फाइदा लिने उद्देश्यले कारोबार गर्छन्। साथै वस्तु नै खरीदविक्री गर्नलाई समेत यस बजारमा कारोबार गर्ने गरिन्छ।