सानिमा बैंकको कोष प्रवद्र्धन रहेको ‘सानिमा म्युचुअल फण्ड’मा लगानी अवसर खुलेको छ।
इच्छुकले आज मंगलरबारदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कुल १२ करोड इकाईमध्ये १० करोड २० लाख सर्वसाधारणका लागि खुलाइएको हो। १ करोड ८० लाख इकाई सानिमा बैंक तथा क्यापिटललाई छुट्याएर बाँकी निश्कासन गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ।
यसमा न्यूनतम १ सय इकाईका लागि दरखास्त दिनुपर्नेछ भने अधिकतम सीमा २४ लाखसम्म तोकिएको छ। प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ।
बन्दमुखी यस योजनाको अवधि ७ वर्षको छ। आस्बा प्रणालीबाट खाता भएको बैंक तथा वित्तीय संस्थाबाटै लगानीकर्ताले आवेदन दिन पाउने छन्।
यसैबीच अन्य ४ म्युचुअल फण्ड धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन्। ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, सिटिजन्स म्युचुअल फण्ड १, एनआइसी एसिया ग्रोथ फण्ड र एनआइबिएल सहभागिता फण्ड स्वीकृतिको पर्खाइमा छन्।
यी कम्पनीले कुल ३ अर्ब ७० करोड रुपैयाँको ३७ करोड इकाई जारी गर्नेछन्। यीमध्ये ग्लोबलले १२ करोड, सिटिजन्स तथा एनआइसीले १०–१० करोड र एनआइबिएलले ५ करोड इकाई जारी गर्नेछन्।