पहिलो चुनाव सकेर दोस्रो चरणमा मुलुक जुटिरहँदा एकै दिन १ अर्ब बढीको सेयर कारोबार भएको छ। बुधबार १६३ कम्पनीको १ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भयो। मंगलबार जम्मा ५७ करोडको कारोबार भएको थियो।
पछिल्ला दिनमा सरदर दैनिक ५५ करोडको कारोबार हुने गरेमा बुधबार एक्कासी कारोबार रकम झण्डै दोब्बर भएको हो। आसन्न प्रतिनिधी र प्रदेश सभाको चुनावपछि मुलुकमा राजनीतिक स्थिरता हुने अपेक्षामा लगानीकर्ताले सेयरमा लगानी बढाएका हुन्।
पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी चुनावपछि राजनीतिक स्थिरता हुने र विकासका कामले गति लिने भएकाले लगानीकर्तामा यतिबेला सकारात्मक प्रभाव परेको बताउँछन्।
‘स्थिर सरकार भएपछि विकासका कामले गति लिन्छ, त्यसले स्वभाविक रुपमा अर्थतन्त्रमा टेवा पुग्दछ, त्यसकारण बजारमा लगानी यतिबेला बढेको हो’ उनले भने।
कारोबार मात्रै नभई बजार पनि दोहोरो अंकले बढेको छ। १२ अंकले बढेर नेप्से परिसूचक १५३६ अंकमा कायम भएको छ। यो अंक कात्तिक १३ गते यताकै उच्च हो।
दिउँसो सवा १ बजे नेप्से १५४८ अंकसम्म पुगेपनि त्यसपछि फर्किँदा वृद्धि घटेको हो। नाफा बुक गर्ने र चुनावपछिको वातावरण हेर्ने मनसाय बनाउँदा त्यसपछि बजारमा बिक्री चाप बढ्न गयो। जसले गर्दा समग्र परिसूचकमा प्रभाव पर्यो।
उत्पादनबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक ३२ अंकले घट्यो। बिमा १००, होटल ५१, बैंकिङ ८, व्यापार २, विकास बैंक १३, जलविद्युत ९, फाइनान्स ५, अन्य ३ र माइक्रोफाइनान्स ४१ अंकले बढे।
कारोबारका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्या। ६ करोड ९९ लाखको कारोबार भएको उसको मूल्य बढेर प्रतिकित्ता ७१८ कायम भएको छ। नेपाल टेलिकम दोस्रोमा रह्यो। उसको पनि मूल्य बढेर प्रतिकित्ता ९०३ कायम भएको छ।
सानिमा माइ हाइड्रो, चिलिमे कम्पनी पनि कारोबार रकमका आधारमा अगाडि रहे। नागबेली र रिलायबल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशत नाफा कमाए।
समग्र बजार बढ्दा पनि हिमालय डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशत गुमाए। निर्णय भएको ढिलोगरी लाभांशको सूचना सार्वजनिक गरेपछि नेप्सेको छानविनमा कम्पनी परेको छ। जसले गर्दा ‘इन्साइडर ट्रेडिङ’ले मूल्य उचालिएको आशंका बढेपछि उसको मूल्य आज एक्कासी घटेको हो।
मूल्य घट्ने अरु कम्पनीको गिरावट भने ४ प्रतिशत मुनि रह्यो।