नेपाल स्टक एक्स्चेन्जले ब्रोकर कम्पनीहरुमार्फत धितोपत्र लगानीकर्तालाई मार्जिन लेन्डिङको सुविधा दिनेगरी मस्यौदा तयार गरेको छ।
मस्यौदा संचालक समितिमा पठाउने तयारी भएको एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। केही दिनमा समितिमा मस्यौदा पठाएपछि धितोपत्र बोर्डमा जाने र त्यहाँबाट स्वीकृति भएपछि कार्यान्वयन हुने उनले बताए।
‘मार्जिन लेन्डिङ’ कार्यान्वयनमा आएपछि लगानीकर्ताले किन्ने सेयरमा पचास प्रतिशतभन्दा बढी रकम ब्रोकर कम्पनीहरुले सापटीका रुपमा प्रदान गर्नेछन्। जसले गर्दा मूल्यको आधा रकम भएपछि लगानीकर्ताले सेयर खरिद गर्न पाउनेछन्। सबै कम्पनीका सेयरमा भने यस्तो सुविधा रहने छैन।
बोर्डका अनुसार कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध हुनेछ।
यसरी लगानी गरेवापत अवधिअनुसार सेयरधनीले ब्रोकरलाई पुरा रकम नतिर्दासम्म सेवा शुल्क तथा व्याज भने बुझाउनुपर्नेछ। हालसम्म ब्रोकरमार्फत मार्जिन सुविधा नहुँदा लगानीकर्तालाई सेयर धितो राखी बैंकमार्फत नै ऋण लिनुपर्ने बाध्यता रहँदै आएको छ।
त्यस्तै मार्जिन कारोवार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था छ।
ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा ब्रोकर कम्पनीलाई सो शेयर विक्री गर्न सक्ने अख्तियारी हुनेछ।
मार्जिन कारोवार सुविधा उपलव्ध गराउँदा ग्राहकसँग सम्झौता गरी सुरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण लगायत शर्त र व्यवस्थाहरु भने व्यवसायीले खुलाउनुपर्नेछ।
शुल्क तथा व्याज बैंकमा भन्दा महँगो पर्ने भएकाले दिर्घकालीन लगानीकर्तालाई भने यो उपयुक्त नहुने केहीको विश्लेषण छ। छोटो अवधिमै कारोबार गरिरहने लगानीकर्ताका लागि यो उपयुक्त भए पनि दीर्घकालीन रुपमा लगानी गर्नेलाई महँगो पर्न सक्ने पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले बताए।
‘यो खासमा ट्रेडर्सका लागि हो, जसले सधै कारोबार गरिरहन्छ, छोटो अवधिका लागि राम्रो हो, तर दीर्घकालीन अवधिका लागि यो महँगो पर्न सक्छ’ उनले भने।
हाल कतिपयले आफूसँग भएको सेयर बैंकमै धितो राखी कर्जा लिने र त्यसलाई पुनः बजारमा परिचालन गर्ने गरेका छन्। यसमा लगानीकर्ता प्रत्येक्ष बैंकसँग जोडिन्छन्।
तर मार्जिन लेन्डिङमा भने लगानीकर्ता ब्रोकरसँग र ब्रोकर बैंकसँग जोडिने भएकाले माध्यम खर्च धेरै हुन्छ। जसले गर्दा लगानीकर्तालाई लागत नै महँगो पर्ने भएकाले यो उपयुक्त नभएको कतिपयको बुझाई छ। लगानीकर्ताले यसरी लिएको रकम पछि फिर्ता गर्न नसकेमा खर्चको भार झन् बढ्ने उनीहरुको बुझाई छ।
‘अहिले वास्तवमा मार्जिन लेन्डिङभन्दा पनि अरु कुराहरुलाई बढी प्राथमिकता दिनुपर्ने थियो’ अर्का एक लगानीकर्ताले नाम उल्लेख नगर्ने शर्तमा भने ‘बैंकसँग सहकार्य गरेको ब्रोकरले पनि केही फाइदा नलिई सेवा दिँदैन, यसले गर्दा थप व्यवहार पर्दछ।’
यदी रकम भुक्तानी हुन नसकेमा ब्रोकरलाई नै सेयर बेचेर रकम उठाउने अधिकार हुने भएकाले घटेका बेला परेमा लगानीकर्ता दोहोरो नोक्सानमा पर्ने उनले बताए।