बैंक तथा वित्तीय संस्थाहरुपछि अब बीमा कम्पनीहरुले हकप्रद सेयरको 'बाढी' ल्याउने भएका छन्।
आगामी असार मसान्तसम्म चुक्ता पुँजी बढाउनुपर्ने बाध्यात्मक व्यवस्था भएपछि बीमा कम्पनीहरुलाई हकप्रदको चटारो परेको हो। जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म २ अर्ब तथा निर्जीवनले १ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेगरी बीमा समितिले नयाँ व्यवस्था गरेको हो।
जुन व्यवस्थालाई पूरा गर्न कम्पनीहरुलाई सबैभन्दा सहजको बाटो हकप्रद निश्कासन बनेको छ। नेपाल धितोपत्र बोर्डमा हकप्रद जारी गर्नका लागि बीमा कम्पनीहरु लामबद्ध छन्। स्वीकृति लिनका लागि कतिपय कम्पनीहरु जाने तयारीमा छन् भने केही निवेदन दिएर पर्खाईमा बसेका छन्।
नेपाल धितोपत्र बोर्डका अनुसार अहिले ३ अर्ब ४२ करोड ४७ लाख ३७ हजार १८५ रुपैयाँको हकप्रद सेयर जारी गर्नका लागि विभिन्न ६ कम्पनीहरुले आवेदन दिइसकेका छन्।
यी कम्पनीहरुले कुल ३ करोड ४२ लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्नेछन्। यीबाहेक अन्य कम्पनीहरु पनि बोर्डमा हकप्रदका लागि जाने तयारीमा छन्। एसियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ, एभरेष्ट इन्स्योरेन्स, प्राइम लाइफ, नेसनल लाइफ र नेको इन्स्योरेन्स धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा छन्।
एसियन लाइफ इन्स्योरेन्सले ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। सो कम्पनीको हकप्रद सेयर निश्कासनकर्ता एनआइबिएल क्यापिटल मार्केट हो। २ बराबर १ को अनुपातमा जारी हुने हकप्रदका लागि असारमै आवेदन दिए पनि बोर्डले मागेको थप कागजातपत्र दिन नसक्दा स्वीकृति पाउन ढिलाई भएको हो।
त्यस्तै गुँरास लाइफले पनि २ बराबर १ को अनुपातमा २९ करोड ७० लाख रुपैयाँको हकप्रद जारी गर्नेछ। लक्ष्मी क्यापिटल मार्केटले सेयर निश्कासनकर्ताको जिम्मेवारी लिएको छ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ करोड ९० लाख रुपैयाँको हकप्रद जारी गर्दैछ। १ बराबर ६ को अनुपातमा जारी हुने हकप्रदको बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ।
६१ करोड २ लाख रुपैयाँको हकप्रद जारी गर्न स्वीकृति मागेको प्राइम लाइफको बिक्री प्रवन्धक पनि सिद्धार्थ क्यापिटल नै रहेको छ।
नेसनल लाइफले ९९ करोड ३६ लाख ४७ हजार ७५४ रुपैयाँको र नेको इन्स्योरेन्सले ३९ करोड २० लाख ९२ हजार ८११ रुपैयाँको हकप्रद जारी गर्नका लागि स्वीकृति मागेकमा छन्। नेसनल लाइफको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल क्यापिटल र नेकोको एनएमबि क्यापिटल रहेको छ।
जीवनतर्फ नेपाल लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी नघाइसकेको छ भने निर्जीवनतर्फ शिखरले पनि हालै घोषित बोनसपछि सहजै पुर्याउने छ। बाँकी धेरै कम्पनीहरुको चुक्ता पुँजी पुर्याउन बाँकी छ। जीवन तथा निर्जीवन गरी २२ कम्पनी नेप्सेमा सूचीकृत छन्।
हकप्रदको प्रलोभनमा उचालिए डुब्नुहोला !हकप्रद निश्कासनको समाचार सुन्नेवित्तिकै कतिपय लगानीकर्ताले उचालिएरै दोस्रो बजारबाट सेयर उठाउने गरेको पाइन्छ। तर बढेको सेयर संख्याअुनसार मूल्य समायोजन हुन्छ भन्ने कुरा धेरैले हेक्का राख्दैनन्।
अर्को महत्वपूर्ण पक्ष, समायोजन भइसकेपछि बजारमा आपूर्ति बढ्छ, यसले झनै मूल्यमा चुनौति थपिन्छ। यसअघि विभिन्न बैंकहरुको हकप्रदका लागि उचालिएर सेयर किन्नेहरु अहिले चिप्लिएका उदाहरण हेरे पर्याप्त पुग्छ।
नेपाल बंगलादेश, कृषि विकास, सिद्धार्थ, एभरेष्ट लगायत धेरै वाणिज्य बैंकहरुको मूल्यान्तरले यसलाई पुष्टि गरिसकेको छ। ति बैंकमा हकप्रदको प्रलोभनमा उचालिएर सेयर किन्नेहरुले अहिलेसम्म लागत उठाउन सकेका छैनन्।
तिमध्ये कृषि विकास बैंकको उदाहरण हेरौँ, ५० प्रतिशत हकप्रद जारी गर्ने भएपछि बजारमा सेयर मूल्य १ हजार नाघ्यो। १ लाखमा सय कित्ता किन्नेले पछि हकप्रदका लागि ५ हजार बुझाए। १ लाख ५ हजार कुल लागत पर्यो भने सेयर संख्या १५० र पछि दिएको २० प्रतिशत बोनसपछि १८० पुग्यो। अहिले कम्पनीको बजार मूल्य ४३० को हाराहारीमा छ। अहिले बजारमा १८० कित्ता किन्ने हो भने ७७ हजार ४ सय रुपैयाँमै पाइन्छ।
त्यसकारण हकप्रदकै लागि उचालिनेभन्दा पनि हकप्रदपछि आपूर्ति बढ्ने भएकाले त्यसतर्फ सजग हुनु लगानीकर्ताका लागि बुद्धिमानी हुन्छ।
त्यसमाथि लगानीअनुसारको प्रतिफल पाउनका लागि बीमा कम्पनीहरु धेरै पछाडि छन्। बीमा कम्पनीहरुले निकालेको वित्तीय विवरणमा उच्च देखिएको मूल्य आम्दानी अनुपातले यसलाई छर्लङ्ग पार्छ।
अर्कोतर्फ नयाँ कम्पनीहरु आएपछि पुरानालाई झनै चुनौति थपिनेमा दुई मत छैन। बिमा कम्पनीहरुले व्यवसायको दायरालाई अझै फराकिलो बनाउन सकेका छैनन्।
चुक्ता पुँजी पुर्याउनकै लागि हकप्रद रोज्ने कम्पनीभन्दा बोनस दिएर पुर्याउने वा पुर्याइसकेका कम्पनीहरु लगानीकर्ताका लागि उपयुक्त हुन सक्छन्।