प्रदेश तथा प्रतिनिधी सभाको दोस्रो चरणको चुनावपछि पहिलो पटक सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ।
चुनावपछि तीन दिनसम्म लगातार बजार घटेको थियो। आइत, सोम र मंगलबार गरी कुल २६ अंकले घटेको नेप्सेमा बुधबार सुधार आएको छ।
१० दशमलव ५३ अंकले बढेर नेप्से १५२० अंकमा कायम भएको छ। कारोबार रकम घटेको छ। यस दिन कुल १६४ कम्पनीको ४९ करोड ४३ लाखको कारोबार भएको छ। अघिल्लो दिन नेप्से १७ अंकले घट्दा ६६ करोड ९२ लाखको कारोबार भएको थियो।
यस दिन सबै उपसूचकहरु बढेका छन्। बैंकिङ ८, व्यापार २, होटल ३८, विकास बैंक ५, फाइनान्स १, बिमा ५२, उत्पादन ३२, अन्य १०, माइक्रोफाइनान्स १४ अंकले बढे।
कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। कम्पनीको ५ करोड ४० लाखको कारोबार हुँदा मूल्य सामान्य बढेर प्रतिकित्ता ३३४ कायम भएको छ।
स्टान्डर्ड चार्टडको ३ करोड ७१ लाखको कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी संस्थापक तथा नेपाल टेलिकम कारोबारका आधारमा अगाडि देखिए।
नाफाका आधारमा कुबेर मर्चेन्ट एण्ड फाइनान्स र ललितपुर फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए। बोटलर्स नेपाल तराई, माहुलि सामुदायिक लघुवित्तका लगानीकर्ता पनि कमाउनेमा अगाडि देखिए।
प्रोग्रेसिभ फाइनान्स तथा खानीखोला हाइड्रोका लगानीकर्ताले ३ प्रतिशत नोक्सान ब्यहोरे।