ब्रोकर तथा लगानीकर्ताले सेयर कारोबारमा भ्याट लगाए कारोबार बन्द गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आन्तरिक राजश्व कार्यालय तथा अर्थमन्त्रालयका अधिकारीहरुसँग आज भएको छलफलमा नेपाल स्टक ब्रोकर एसोसिएसन तथा इन्भेष्टर्स फोरमका अधिकारीहरुले १५ दिनभित्र भ्याटको विवाद ननिस्कनेगरी फिर्ता लिन अल्टिमेटम दिएका छन्।
सेयर कारोबार वित्तीय क्षेत्रभित्र रहेकाले यसमा भ्याट लगाउन नहुने उनीहरुको भनाइ छ। इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बेलाबेलामा भ्याटको कुरा ल्याएर लगानीकर्तालाई तर्साउन खोजिएको भन्दै यसलाई पूर्ण रुपमा सल्टाउन भनिएको जानकारी दिए।
‘जम्मा १५ लाख सेयर लगानीकर्ता छन्, यसबाट आउने राजश्व रकम पनि धेरै हुँदैन’ उनले भने ‘यसलाई अब विवाद नहुनेगरी सल्टाउनुपर्छ।’
१५ दिनसम्म पूर्ण रुपमा यसलाई नसल्टाएमा कारोबार बन्द गर्ने चेतावनी उनीहरुको छ। बामे सर्दै गरेको पुँजी बजारमा अनेक आतंक ल्याउन लागिएको भन्दै स्टक ब्रोकर एसोसिएसनले आपत्ति जनाएको छ।
यसअघि आन्तरिक राजश्व विभागले केही ब्रोकर कम्पनीहरुलाई पत्र काट्दै भ्याट तिर्न आग्रह गरेको थियो। सुन्धारा सेक्युरिटिज, सेवा र इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई पत्र पठाएको थियो। ति कम्पनीलाई कार्यालयले विगत ४ वर्षको भ्याट तिर्न निर्देशन दिएको थियो।
मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ (पहिलो संशोधन २०७३) को दफा ४.१७ मा वित्तीय सेवालाई कर छुट हुने व्यवस्था छ। जसअनुसार सेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निश्कासन वा व्यवस्थापन वा खरिद बिक्रीसँग सम्वन्धित सेवालाई पनि वित्तीय सेवाअन्तर्गत राखिएको ब्रोकर तथा लगानीकर्ताहरुको भनाइ छ।
केही महिनाअघि पनि सेयर कारोबारमा भ्याटको विषयलाई लिएर विवाद देखिएको थियो। ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिने कमिसनमा निश्चित प्रतिशत भ्याट लगाउनेगरी नयाँ मोडालिटी बनाएर अघि बढ्ने सहमति भएको थियो।
हाल ब्रोकर कम्पनीहरुले सेयर खरिद वा बिक्री गर्दा कारोबार भएको कुल रकममा ०.६ प्रतिशतसम्म कमिसन लिने गरेका छन्। यो कमिसनमा थप्नुपर्ने भ्याट आफूहरुको 'टाउको'मा पार्न खोजिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका छन्।
ब्रोकर कम्पनीहरुले यसअघि लगानीकर्ताबाट भ्याटका लागि भनेर छुट्टै पैसा नउठाइएकाले नतिर्ने र अब तिर्नुपर्ने भएमा नयाँ मोडालिटी बनाउनुपर्ने बताउँदै आएका छन्।