नेपाल उद्योग परिसंघले मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि भई उत्पादन लागत बढ्न गएको र त्यसले उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर परेको जानकारी गरायो।
यही अवस्था कायम रहेमा आगामी वर्षभित्र मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने, अर्थतन्त्रको आकार बढेअनुरुपको आर्थिक व्यवस्थापन पक्ष कमजोर हुने भन्दै प्रतिनिधी मण्डलले वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याउन सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैँक, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसिएसन लगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।
गत वर्ष पनि तरलता समस्यापश्चात् नेपाल राष्ट्र बैँकको पहलबाट ब्याजदर वाञ्छित सीमामा आई तत्कालको समस्यामा केही समाधान भएको औंल्याउँदै पुनः यो समस्या छोटो अवधिमा देखिनुले केन्द्रीकरण संरचनात्मक, नीतिगत र व्यवस्थापकीय तहमै परिवर्तनको आवश्यकता महशुस गरिएको परिसंघले जनाएको छ।
मुलुकमा कठिन अवस्थामा समेत सफलतापूर्वक चुनाव सम्पन्न गराएकामा प्रधानमन्त्रीलाई बधाई दिँदै अध्यक्ष शर्माले आर्थिक समृद्धि, लगानी र विधिको शासनका लागि अहिले सबै तहको चुनाव भइसकेको परिवेशमा ठूलो अवसर भएको समेत बताए।
प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि आफू कटिबद्ध रहेको र हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी यथासक्य सम्बोधन गर्ने आश्वासन दिएको अध्यक्ष शर्माले बताए। रासस