नेपाल राष्ट्र बैंकको ‘कुलिङ पिरियड’का कारण नविल बैंकले प्रमुख कार्यकारी अधिकृत पदमा अनिल शाहलाई गरेको नियुक्ति खारेज हुन पुग्यो। शाहको जेठ अन्तिम साता मात्रै मेगा बैंक छाडेको ६ महिना पुरा हुने छ। डेपुटी सिइओका रुपमा नविल गएका उनले अहिले निमित्त कार्यकारी अधिकृतको रुपमा रही कार्यभार सम्हालेका छन्। प्रस्तुत छः यिनै सम्वन्धमा शाहसँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीःनविलले तपाईलाई नियुक्त गर्ने र कुलिङ पिरियड एकै दिन लागू गरियो, के लाग्छ यसको रहस्य ?राष्ट्र बैंकले एउटा व्यक्तिका लागि मात्रै पक्कै पनि यो ‘कुलिङ पिरियड’को नियम ल्याएको होइन। वित्तीय क्षेत्रलाई थप पारदर्शी बनाउनकै लागि नियामकले यो ल्याएको ठान्छु। नियामकले ल्याएको नियमभित्रै हामी रहनुपर्छ।
त्यसकारण मैले पनि त्यसलाई लत्याउनु वा विवादमा ल्याउन चाहिनँ। म सधैं नियामकलाई सम्मान गर्दै आएको छु। कतिपय कुरामा हामीले सुझाव वा सल्लाह दिन सक्छौँ, तर नियम लागू भइसकेपछि त्यसलाई सम्मान गर्नुपर्छ। कतिपयले यसलाई मिलाउन सकिन्छ भन्नुभएको थियो, तर मिलाउने प्रयासतिर हामी लागेनौँ।
राष्ट्र बैंकसँगै यसबारेमा परामर्श गर्दा उहाँहरुबाट डेपुटीका रुपमा जान मिल्ने सुझाव आयो। जसले गर्दा म सिइओ भइसकेको मान्छे, डेपुटीका रुपमा यहाँ आएँ।
कतिपयले सिइओ भइसकेको मान्छे डेपुटीका रुपमा गएर प्रतिष्ठा घटायो भन्ने आरोप लगाउँछन् नि ?आरोपका पछि म कहिलै लागिनँ। जुन अवस्थामा गए पनि आफूले राम्रो गरेर देखाउने हो। मैले नविलमा केही गर्न सक्छु भन्ने हेतुले नै यहाँ आएको हुँ। यहाँको टिमप्रति म पूर्ण विश्वस्त छु। कुनै पनि लक्ष्य प्राप्तिका लागि एउटा व्यक्ति मात्रै सक्षम भएर हुँदैन, पुरै टिम सक्षम हुनुपर्छ, नविलमा त्यो छ।
त्यसकारण शशिन दाजु तथा संचालकहरुले गरेको आग्रहलाई मैले मानेको हुँ। उत्कृष्ट रहँदै आएको बैंकमा शशिन दाजुले छोड्ने भइसकेपछि कार्यभार नै प्रभावित हुने बनाउनुहुन्न भन्ने हेतुले उहाँहरुले मलाई डेपुटीका रुपमा ल्याउनुभएको हो।
उहाँले अवकास लिइसकेपछि निमित्त कार्यकारी प्रमुखको रुपमा पद सम्हालेको छु। कमसेकम अहिले सिइओको कार्यभार नै प्रभावित भएको छैन।
त्यसअघि तपाई सेन्चुरी कमर्सियल बैंकमा जाने कुरा थियो, तपाईले मागेको तलव सुविधालाई बैंकको वित्तीय स्थितिले नै नभ्याउने भएपछि रोकियो, कति धेरै खोज्नुभयो सेवा सुविधा ?मैले लिने तलव तथा सुविधाबारे सेन्चुरीलाई पहिले नै स्पष्ट भनेको थिएँ। बैंकले त्यसमा स्वीकृति जनाएको हो। तपाईहरुको वित्तीय स्थितिले साथ दिँदैन कि भनेर मैले भनेको पनि थिएँ। तर उहाँहरुले ‘सक्छौँ’ भन्नुभयो। पछि राष्ट्र बैंकले नै नमिल्ने भनिसकेपछि म जाने कुरा भएन।
तलव तथा सेवा सुविधाको सम्वन्धमा राष्ट्र बैंकले कायम गरेको मापदण्डभित्रै बैंकहरु रहनुपर्छ। भनेजति तलव सुविधा दिन पछि खुलेका बैंकहरुलाई अलि मुश्किल नै पर्छ।
एनसेललाई लाभांश लैजान बाटो खुलेपछि, नविलले १३ प्रतिशतको उच्च व्याजदरमा निक्षेप लिन प्रस्ताव गर्यो, एनसेलको लाभांशले अत्यायो है ?उसको ठूलो रकम नविलमा थियो। त्यो हामीप्रति उहाँहरुको विश्वास हो। पहिलेदेखि नै एनसेलको लाभांश रोकिएकाले हामीलाई पनि उहाँहरुले पैसा निकाल्ने सम्वन्धमा अन्यौलता थियो।
अचानक लाभांश लैजाने स्वीकृति पाइसकेपछि, उहाँहरुले हामीलाई पैसा जुटाउन आग्रह गर्नुभयो। त्यहीअनुसार संकलन गर्नका लागि केही बढी व्याजदर तोकेर हामीले निक्षेप माग्यौँ।
तर कसैले ठूलो रकम झिक्दैछ भने उसले पहिले नै हामीलाई जानकारी गराउँदछ र हामीले त्यसको सहजै व्यवस्थापन गर्छौँ। धेरै निक्षेप रकम भएको खाताबाट पैसा निकालिएमा कहाँबाट जुटाउने भन्ने कुरा हामी योजनाबद्ध रुपमा रहन्छौँ।
अर्को कुरा ऐनसेलको सन्दर्भमा, कुनै पनि विदेशी लगानीकर्ताले यहाँ लगानी ल्याउँछ भने त्यसबाट आएको नाफा लैजान ऊ स्वतन्त्र नै हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपी प्रक्रियासम्मत हुनुपर्यो।
नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट प्रकृतिको कर्जा १५ प्रतिशतको सीमाभित्र राख्न १ वर्षको समयसीमा दिएको छ, यसलाई कसरी हेर्नुभएको छ?यसले कुन विषयलाई नियन्त्रण गर्न खोजिएको हो भन्ने कुरा अस्पष्ट छ। मेरो विचारमा ‘ओभरड्राफ्ट’ नै भन्दा पनि त्यसभित्रको सम्वद्ध विषयलाई नै ‘क्लियर’ रुपमा सीमा लगाएको भए अझ उपयुक्त हुन्थ्यो। कुल कर्जामा ओभरड्राफ्टतर्फ नविलको १४ दशमलव ५ प्रतिशत हिस्सा छ। हामी सीमाभित्रै भएकाले यसमा कुनै समस्या छैन।
राष्ट्र बैंकले चाहेअनुसार वित्तीय क्षेत्रको सुधारका लागि मापदण्ड बनाउन सक्छ। उचित नियमन र बैंकहरुको साथले नै नेपालको वित्तीय क्षेत्र पारदर्शी रहँदै आएको छ, यसलाई निरन्तरता दिनुपर्छ।
लगानीकर्ताको अपेक्षा सधै धेरै लाभांश पाइयोस् भन्ने हुन्छ, पुँजी बढेपछि नविलले दिँदै आएको लभांशलाई निरन्तरता दिन सक्ला ?नविलले मात्रै होइन, कसैले पनि सक्दैन। २ अर्ब चुक्ता पुँजी बढेर ८ अर्ब पुगिसकेकाले त्यतिबेलाकै दरमा लाभांशको अपेक्षा अब लगानीकर्ताले गर्नु हुँदैन। त्यतिबेला ३०/४० प्रतिशत लाभांश दिएका कुनै पनि बैंकले अब त्यति दिँदैनन्, यो झर्छ।
१० देखि २० प्रतिशत लाभांश दिनु पनि नराम्रो होइन। चुक्ता पुँजी ४ गुणाले बढ्दा त्यति लाभांश दिन सक्नु धेरै राम्रो हो।
चुक्ता पुँजी बढाउँदै गर्दा धेरै नाफा कमाउनका लागि सेयरधनीको दवाव पर्यो, त्यसकै प्रभावले जथाभावी कर्जा प्रवाह भयो भन्ने राष्ट्र बैंकको आरोप छ नि ?त्यो आरोपलाई म पूर्ण रुपमा नकार्न सक्दिनँ। सेयरधनीको इच्छा धेरै नाफा कमाओस् भन्ने हुन सक्छ। तर तोकिएको सीमा वा मापदण्डमै बैंकहरु पनि रहनुपर्छ। मैले अघि भनेजस्तै सेयरधनीले पुरानै दरको लाभांश अब अपेक्षा गर्नु हुँदैन।
बैंकहरुले पनि आफ्नो निक्षेपअनुसार नै कर्जा प्रवाह गर्नुपर्छ। पुँजी बढाइसकेपछि नाफा बढाउनका लागि बैंकहरुले कर्जा प्रवाह बढाएका हुन सक्छन्। राष्ट्र बैंकले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा तोकेको लगानी गर्नेतर्फ बैंकहरु लाग्नुपर्छ।
नविलको कुरा गर्नुपर्दा पर्यटन क्षेत्रमा ५ प्रतिशत कर्जा पुर्याउन सकेका छैनौँ। त्यसका लागि करिब ४ अर्ब बढाउनुपर्ने देखिन्छ। त्यसतर्फ मेरो ध्यान केन्द्रित भएको छ।
अब नविलमा रहेर तपाईले गर्ने कामका योजनाहरु बताइदिनुहोस् नसबैभन्दा पहिले पर्यटन क्षेत्रमा तोकिएको लगानी पुर्याउनेछु। सातै प्रदेशमा प्रान्तीय अफिस संचालन गर्ने योजना छ।
प्रान्तीय सरकारसँग सहकार्य गरेर अघि बढ्नेछौँ। थप प्राविधिक विकासलाई अवलम्वन गर्दै जानेछु। आम सर्वसाधारण, सेयर धनी तथा समुदायसँग मिलेरै नविल अघि बढिरहेको छ, त्यसलाई अझ बढाउनेछु।
शाखा नपुगेका क्षेत्रमा शाखारहित सेवा पुर्याएर पनि सेवा दिनेतर्फ लाग्नेछौँ। नविलको जुन ब्राण्ड भ्यालु छ, त्यसलाई बढाउनेतर्फ म लाग्नेछु। यहाँ रहेको टिमसँग म मिलेर अघि बढ्नेछु।