ग्लोबल आइएमई बैंकले एघारौँ वार्षिक उत्सवको अवसरमा क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएबापत राष्ट्रिय टिमका सदस्य तथा अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लागि प्रायोजन गरेको छ।
कमलादीमा आयोजित एक समारोहकाबीच बैंकले ऐरीलाई प्रयोजनको घोषणा गरेको हो। प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि ४ लाख प्रदान गर्नेछ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले ऐरीलाई सम्मान गरिएको बताए। साथै उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गरे।
समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि बल मिलेको बताए।