बजारमा सूचीकृतमध्ये धेरैजसो म्युचुअल फण्ड अंकित मूल्यभन्दा तल खस्किएका छन्।
बजारमा सूचीकृत म्युचुअल फण्डका १३ योजनामध्ये ७ वटाको मूल्य १० रुपैयाँभन्दा तल छ। प्राथमिक बजारमा प्रतिइकाई १० रुपैयाँ मूल्यमा लगानीकर्ताले यी योजना खरिद गरेका थिए।
अर्थात प्राथमिक निश्कासन हुँदा १० रुपैयाँमा खरिद गरेका लगानीकर्ताको सम्पत्ति मूल्य घटेको छ। निरन्तरजसो सेयरको मूल्य घटेसँगै म्युचुअल फण्डका योजना पनि सस्तिएका हुन्।
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरे फण्डहरुको मूल्य गिरावट नेप्सेको अनुपातमा कम रहेकाले यसलाई राम्रो मान्नुपर्ने बताउँछन्।
‘हाम्रा योजना जारी हुने बेला सेयरमा लगानी गर्नेले अहिले कति गुमाए, हाम्रा योजनाको मूल्य कति घट्यो लगानीकर्ताले तुलना गरेर हेर्नुपर्छ’ उनले भने।
योजना व्यवस्थापकले म्युचुअल फण्डको अधिकांश लगानी सेयरमा लगाउने गरेका छन्। सेयरको मूल्य बढ्न नसकेपछि स्वभाविक रुपमा फण्डको मूल्य घटेको विश्लेषकहरु बताउँछन्।
‘बजार निरन्तर घटेकाले स्वभाविक रुपमा केही योजनाहरुको मूल्य घटेको हो, कारोबार मूल्यभन्दा पनि खुद सम्पत्ति मूल्य हेर्नु जरुरी हुन्छ’ घिमिरेले भने।
सेयरमाभन्दा जोखिम कम हुने भनिएका म्युचुअल फण्ड अधिकांशको मूल्य अंकितभन्दा तल झरेपछि केही लगानीकर्ताले घाटा ब्यहोरेरै पनि बेच्ने गरेका छन्। ५ वर्षे तथा ७ वर्षे अवधिका यी फण्ड बजारमा सूचीकृत भएपछि जुनसुकै बेला किन्न वा बेच्न सकिन्छ।
खुद सम्पत्तिको मूल्य ९एनएभी०का आधारमा यी योजनाको मूल्य तोकेर लगानीकर्ताले खरिदबिक्री गर्ने गर्दछन्। यद्यपी केहीको खुद सम्पत्ति मूल्य र बजार मूल्यको अन्तर फराकिलो देखिन्छ। केही योजनाको बजार मूल्य खुद सम्पत्ति मूल्यभन्दा तल देखिन्छ भने केहीको बढी देखिन्छ।
‘हामीले लगानी गर्ने दिर्घकालीन अवधिका लागि हो, क्षणिक रुपमा मूल्य घट्दैमा लगानीकर्ता आत्तिनु पर्दैन’ घिमिरेले भने।
भरपुर विज्ञताको प्रयोग गरेर फण्डको रकम परिचालन हुने बताइरहँदा पनि केहीको खुद सम्पत्ति मूल्य १० रुपैयाँभन्दा तल झर्नुले सर्वसाधारण लगानीकर्तामा यस्ता फण्डप्रति विश्वास घट्न सक्ने विश्लेषण गरिएको छ।
योजनाहरु |
बजार मूल्य (मंगलबारसम्मको) |
खुद सम्पत्ति मूल्य (साप्ताहिक) |
ग्लोबल आइएमई समन्नुत १ |
८ रुपैयाँ ८० पैसा |
८ रुपैयाँ ३९ पैसा |
लक्ष्मी इक्वीटी फण्ड |
८ रुपैयाँ ९० पैसा |
८ रुपैयाँ ४८ पैसा |
नविल इक्वीटी फण्ड |
९ रुपैयाँ ३ पैसा |
८ रुपैयाँ ३२ पैसा |
एनआइबिएल प्रगति फण्ड |
८ रुपैयाँ ८५ पैसा |
७ रुपैयाँ ६८ पैसा |
एनएमबि हाइब्रिड फण्ड १ |
८ रुपैयाँ ७५ पैसा |
१० रुपैयाँ ८ पैसा |
सानिमा इक्वीटी फण्ड |
९ रुपैयाँ ४५ पैसा |
९ रुपैयाँ ८ पैसा |
सिद्धार्थ इक्वीटी फण्ड |
९ रुपैयाँ २३ पैसा |
९ रुपैयाँ ८ पैसा |