नेपाल सरकारले पर्यटनलाई विकासको मुख्य क्षेत्र मानेको छ। विदेशी मुद्रा आर्जनको भरपर्दो माध्यम पर्यटनलाई बनाउने प्रत्येक सरकारी घोषणामा रहेको हुन्छ।
सरकारले पर्यटकबाट विदेशी मुद्रा आर्जन गर्ने योजना बनाइरहँदा विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा विदेशी मुद्रा लैजाने क्रम बढेको छ।
गएको साउनदेखि मंसिरसम्म नेपालीहरूले ४१ अर्ब ३३ करोड नेपाली रूपैयाँ बराबरको वैदेशिक मुद्रा मुलुकबाहिर लिएका छन्। विदेश भ्रमण जाने नेपालीले यति विदेशी मुद्रा लिँदा यही अवधिमा विदेशीले भने नेपालमा जम्मा ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा ल्याएका छन्।
नेपालीहरूको जीवनस्तर र प्रतिव्यक्ति आयमा खासै सुधार भएको छैन। तर पनि पाँच महिनामै घुमेर यत्रो पैसा नेपालीले कसरी खर्च गरे?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बढ्दो रेमिट्यान्सका कारण नेपालमा बढेको केही सेवा क्षेत्रले यस्तो प्रवृत्ति बढाएको बताउँछन्।
‘नेपालमा अहिले ठूलो तप्का मध्यम वर्गमा स्तरोन्नति भएको छ यसले विदेशका विकास र प्रविधि हेर्न रुचाउँछ र घुम्न जान्छ’ उनले भने, ‘केही यस्ता क्षेत्र छन्, जहाँ राम्रो आम्दानी भइरहेको छ त्यसैले उनीहरूको प्राथमिकता विदेश भ्रमण परेको छ।’
उनका अनुसार वित्तीय क्षेत्रमा काम गर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने, ठूला कर्पोरेट हाउसमा कार्यरतहरूले यस्तो अवसर पाइरहेका छन्।
नेता, सरकारी कर्मचारी र सहकारीमा काम गर्नेको विदेश भ्रमण पनि बाक्लिएको छ।
‘नेपालमा रेमिट्यान्स बढ्दै जाँदा त्यसले व्यापार, बैंक तथा वित्तीय संस्था, ट्राभल एजेन्सीजस्ताको व्यापार बढायो। नाफा तिनैलाई भयो यसको फाइदा कृषक र गाउँका मान्छेले पाएनन्,’ थापाले भने,‘त्यही नाफाबाट यो भ्रमण भइरहेको छ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नेपालीको विदेश भ्रमणलाई अस्वभाविक मान्दैनन्।
‘कामदार भिसा बाहेकका सबैलाई वैदेशिक मुद्रा सटही गर्दा भ्रमण प्रायोजन भनेर गणना हुन्छ यसमा सभासमारोह लगायतका कार्यक्रममा जाँदा लिएको डलर खर्च नभएर फिर्ता आउँदा त्यसको हिसाब हुँदैन’ उनले भने,‘घुम्नकै लागि भनेर जानेहरूको खर्च त्यो नहुन पनि सक्छ।’
तर विदेशी मुद्रा बाहिरिएको कुरा भने सत्य भएको उनको भनाइ छ।
पछिल्लो समय एसियन पर्यटकीय बजारमा घुम्न जाने नेपालीहरुको संख्या बढेको जोशीको बुझाइ छ।
‘थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका मुलुक घुम्न जानेहरूको संख्या पछिल्लो समय बढेको छ’ उनले भने,‘यसले नेपालीहरुको खर्च गर्ने क्षमता बढेको देखाउँछ।’
विश्वभर छरिएर रहेका नेपाली र तिनीहरूको संगठन गैरआवासीय नेपाली संघले पनि नेपालीहरुलाई विदेश जान सघाइरहेको उनले बताए।
नेपालीले बाहिर पैसा लैजाने अर्को कारण हो, पढाइ। पाँच महिनामा अध्ययनकै लागि भन्दै २२ अर्ब १३ करोड रूपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल विद्यार्थीहरूले अष्ट्रेलिया, अमेरिका र विभिन्न युरोपेली मुलुकमा पढ्नका लागि यो पैसा लिएका हुन्।
अन्य शीर्षकमा १५ अर्ब ४३ करोड बाहिरिएको छ भने त्यसमा २ अर्ब २८ करोड सरकारले खर्च गरेको छ। विदेशी नियोगको खर्च तथा सरकारी भ्रमणमा यो रकम खर्च भएको हो।
वस्तु व्यापारमा यसै पनि घाटामा रहेको नेपाल पछिल्लो समय सेवा व्यापारमा पनि घाटामा गएको छ। चालु वर्षको पाँच महिनामा यस्तो घाटा ८ अर्ब ४ करोड रूपैयाँ रहेको छ।
यस्तो खर्चले मुलुको वैदेशिक मुद्रा सञ्चितिमा स्वतः दबाब सिर्जना गर्ने छ। वस्तु तथा सेवा आयात गर्नका लागि आवश्यक पर्ने यस्तो वैदेशिक मुद्रो सञ्चिति घट्दै गएको छ।
असारको तुलनामा मंसिरमा यस्तो सञ्चिति ३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।