बेलाबेलामा बजारमा नेपाली रूपैयाँका नक्कली नोट फेला पर्छन्। केही दिनअघि पनि पाँच सय र एक हजार दरका नक्कली नोट बजारमा भेटिएको समाचार आए।
नेपाल राष्ट्र बैंक तथ्यांकअनुसार गत वर्ष एक हजारका ६ सय वटा र पाँच सयका ४ सय ५० वटा नक्कली नोट भेटिएका थिए।
यसपालि भने नक्कली नोट नभेटिएको बैंकको दाबी छ। नक्कली नोट नभेटिए पनि त्यस्ता नोट कसरी चिन्नेबारे राष्ट्र बैंकले आफ्नो वेवसाइटमा जानकारी राखेको छ।
झट्ट हेर्दा उस्तै देखिन्छ। नक्कली नोट भनेर कसरी चिन्ने त? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालाई सोध्यौं।
निरौलाले भने- नक्कली नोट चिन्ने दुई वटा तरिका छन्, हेरेर र छामेर।
तपाईं एक हजारको नोटको दायाँ पुच्छर भागलाई उज्यालोतिर ठड्याएर हेर्नुस्, त्यहाँ लालीगुँरास देखिन्छ। जसलाई पानी छाप भनिन्छ।
प्रवक्ता निरौलाले भने, ‘नक्कली नोट हेरेर पत्ता लगाउने यो एउटा तरिका हो। अरू पनि धेरै तरिका छन्।’
नोटको बीच भागको तलपट्टी अङ्ग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ। नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ।
यस्तै नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ। यसलाई सुरक्षण धागो भनिन्छ। सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ।
नोटको पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ। नोट जति पुरानो र मैलो भए पनि यसको रङ बिग्रिदैन। नक्कली नोटहरूमा यस्तो गाढा रङ हुँदैन।
यस्तै सक्कली नोटमा पानीको थोपा पर्यो भने केही हुँदैन। तर नक्कली नोटमा पानीको थोपा पर्यो भने रङहरू पोतिने हुन्छ।
प्रवक्ता निरौलाले भने, ‘हेरेर नक्कली नोट थाहा पाउने तरिका यिनै हुन्।’
नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने। सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो।
‘नक्कली नोट चिल्लो हुन्छ,’ उनले भने, ‘मानिसहरूले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्छ।’
यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन।
नोटको दाँया भागको पुच्छरमा १००० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महशुस हुन्छ। यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ। नक्कली नोटमा सो अक्षर उठेको हुँदैन।
दृष्टिविहीनले पनि नक्कली नोट छामेर थाहा पाउन सक्छन्। नोटको बीच भागमा तीन वटा कालो गोलो आकारको ‘डट’ हुन्छन्। र ती डटहरू पनि थोरै उठेका हुन्छन्। नक्कली नोटमा यस्तो डट उठेको हुँदैन। यसैलाई छामेर दृष्टिविहीनहरूले नक्कली नोट पत्ता लगाउन सक्छन्।
‘नक्कली नोट आउने भनेको हजार, पाँच सय र सयको हो। यी तीनवटै नोटमा यही तरिका लागु हुन्छ,’ प्रवक्ता निरौलाले सेतोपाटीसँग भने, ‘कुनै व्यक्तिले नोटमा शंका लागेमा यी तरिकाबाट सजिलै नक्कली नोट पत्ता लगाउन सक्छन्।’