एक वर्षमा २८ वटा वाणिज्य बैंकहरुको खुद नाफा २५ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्ष (२०७५/७६) मा यी बैंकहरुको खुद नाफा ६५ अर्ब ४० करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा (२०७४/७५)मा ५२ अर्ब २३ करोड कमाएका थिए।
वाणिज्य बैंकहरुमा पनि नाफामा राष्ट्रिय वाणिज्यले सबैलाई जितेको छ। उसले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ। धेरैजसो सरकारी संस्थानहरु नोक्सानमा रहेको अवस्थामा पूर्ण सरकारी स्वामित्वको यो बैंकले नविललाई पछार्दै एक नम्बर पोजिसन कायम गरेको हो। अघिल्लो वर्ष नाफामा नविल एक नम्वर पोजिसनमा थियो।
अहिले यो बैंक तेस्रो स्थानमा खस्किएको छ। कृषि विकास बैंकले दोस्रो स्थान यथावत राख्न सफल भएको छ। सेन्चुरी र सिभिल बैंकबाहेक सबैको नाफा १ अर्ब नाघेको छ। सेन्चुरी र सिभिल नाफाका आधारमा सबैभन्दा पछाडि देखिएका छन्। अन्यको तुलनामा पछि खुलेकाले यी बैंकहरु व्यवसाय बढाउने क्रममै छन्।
उच्च वृद्धिका आधारमा एनआइसी एसिया र प्रभु बैंक सबैभन्दा अगाडि छन्। एनआइसी एसियाको खुद नाफा १२९ प्रतिशतले र प्रभुको ११३ प्रतिशतले बढेको छ।
बैंकहरुबीच नाफा बढाउने प्रतिस्पर्धा चलिरहँदा तीन बैंकको नाफा भने घटेको छ। नेपाल बैंक, इन्भेष्टमेन्ट र सेन्चुरी बैंकको खुद नाफा घटेको छ। नेपाल बैंकको व्याजवापतको आम्दानी नै घटेको छ भने इन्भेष्टमेन्ट र सेन्चुरीको खराब कर्जा बढ्दा नाफामा ठूलो असर परेको देखिन्छ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले व्यवसाय नै बढेपछि नाफा बढेको दावी गर्छन्।
राष्ट्रिय वाणिज्यमा अन्यमा जस्तो लगानीयोग्य रकमको अभाव नभएको उनले बताए। लगानीयोग्य रकमको अभाव खेप्नु नपरेकै कारण राष्ट्रिय वाणिज्य बैंक नाफाका आधारमा एक नम्वर पोजिसनमा आएको उनले बताए।
‘हाम्रो त समग्रमा आधार व्याजदर नै घटेको छ, त्यो दर ६ प्रतिशतमुनि छ’ सेतोपाटीसँग उनले भने ‘अर्कोतर्फ राष्ट्र बैंकले स्प्रेडदरको सीमा घटाउँदै लगेको छ, त्यसकारण व्याजदर बढाएर नभई व्यवसाय बढेर नाफा बढेको हो।’
उनले यस्तो दावी गरे पनि कतिपय बैंकले ऋणीलाई व्याज बढाएरै नाफा कमाएको तथ्यांकले देखाउँछ। नेपाल बंगलादेश बैंक, इन्भेष्टमेन्ट, एनएमबि, प्राइम कमर्सियल, सेन्चुरी, एनसिसी लगायत कतिपय बैंकको स्प्रेड दर नै बढेको छ।
निक्षेपमा दिने र ऋणीबाट लिने औसत व्याजको अन्तर नै स्प्रेड दर हो। निक्षेपमा अहिले बैंकहरुले दिने अधिकतम व्याजदरमा बिर्को लागेको छ। अर्थात बैंकहरुले दिने व्याज स्थिर रहँदा स्प्रेड दर बढ्नु भनेको औसतमा ऋणीबाट लिने व्याज बढ्नु हो।
यद्यपी बैंकहरुले भनेजस्तो व्यवसाय बढ्दा उनीहरुको नाफामा उल्लेख्य सुधार आएको यथार्थ हो। एक वर्षको अवधिमा यी वाणिज्य बैंकहरुबाट प्रवाहित कर्जा १८ प्रतिशतले बढेको नेपाल बैंकर एसोसिएसनको तथ्याङ्कले देखाउँछ।
२०७६ असार मसान्तसम्म वाणिज्य बैंकहरुले २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जवकि २०७५ असार मसान्तसम्म प्रवाहित कर्जा २१ खर्ब ११ अर्ब रहेको थियो।
हेर्नुहोस् कुन बैंकको नाफा कति ?
बैंक
|
नाफा २०७५/७६
|
नाफा २०७४/७५
|
राष्ट्रिय वाणिज्य
|
५ अर्ब ३२ करोड
|
३ अर्ब ६५ करोड
|
कृषि विकास
|
४ अर्ब ३५ करोड
|
३ अर्ब ६५ करोड
|
नविल
|
४ अर्ब २९ करोड
|
३ अर्ब ९८ करोड
|
इन्भेष्टमेन्ट
|
३ अर्ब ४१ करोड
|
३ अर्ब ६५ करोड
|
एनआइसी एसिया
|
३ अर्ब ५ करोड
|
१ अर्ब ३३ करोड
|
एभरेष्ट
|
३ अर्ब ४ करोड
|
२ अर्ब ५८ करोड
|
हिमालयन बैंक
|
२ अर्ब ८४ करोड
|
१ अर्ब ८७ करोड
|
ग्लोबल आइएमई
|
२ अर्ब ७९ करोड
|
२ अर्ब १० करोड
|
नेपाल बैंक
|
२ अर्ब ६१ करोड
|
३ अर्ब २१ करोड
|
स्टान्डर्ड चार्टड
|
२ अर्ब ४९ करोड
|
२ अर्ब १८ करोड
|
प्राइम कमर्सियल
|
२ अर्ब ३६ करोड
|
१ अर्ब ७२ करोड
|
एनएमबि
|
२ अर्ब ३१ करोड
|
१ अर्ब ८५ करोड
|
सिद्धार्थ
|
२ अर्ब ३० करोड
|
१ अर्ब ९० करोड
|
एसबिआई
|
२ अर्ब ३० करोड
|
२ अर्ब २ करोड
|
सानिमा
|
२ अर्ब २४ करोड
|
१ अर्ब ६९ करोड
|
प्रभु
|
२ अर्ब ५ करोड
|
९६ करोड
|
बैंक अफ काठमाण्डु
|
१ अर्ब ९३ करोड
|
१ अर्ब ३२ करोड
|
मेगा बैंक
|
१ अर्ब ७१ करोड
|
१ अर्ब ३१ करोड
|
सनराइज बैंक
|
१ अर्ब ७० करोड
|
१ अर्ब ४७ करोड
|
माछापुच्छ्रे
|
१ अर्ब ७० करोड
|
१ अर्ब २४ करोड
|
नेपाल बंगलादेश
|
१ अर्ब ६१ करोड
|
१ अर्ब १४ करोड
|
लक्ष्मी
|
१ अर्ब ५७ करोड
|
१ अर्ब १८ करोड
|
एनसिसी
|
१ अर्ब ५२ करोड
|
१ अर्ब ३४ करोड
|
सिटिजन्स
|
१ अर्ब ४८ करोड
|
१ अर्ब २३ करोड
|
जनता बैंक
|
१ अर्ब ३४ करोड
|
१ अर्ब
|
कुमारी
|
१ अर्ब ३३ करोड
|
१ अर्ब ४ करोड
|
सेन्चुरी
|
८६ करोड
|
९१ करोड
|
सिभिल बैंक
|
७६ करोड
|
७० करोड
|
स्रोतः बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण