चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र (डिवेन्चर) जारी गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ।
मर्जरमा जाने बैंकको लागि भने अर्काे एक वर्षको सुविधा छ। मर्जरको तयारी गरिरहेका बैंकलाई हतार नभएपनि अरुले पछिल्लो समय लगातार ऋणपत्र जारी गर्दै आइरहेका छन्।
ऋणपत्र के हो, लगानी गर्दा के फाइदा हुन्छ, कसरी लगानी गर्ने लगायतका विषयमा सेतोपाटीका रोशन सिग्देलले सनराइज बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पौड्यालसँग गरेको कुराकानीः
राष्ट्र बैंकले ऋणपत्र जारी गर्नै पर्ने बाध्यकारी नियम बनाएपछि अहिले सबै बैंकले धमाधम जारी गर्न थालेका छन्। ऋणपत्र अथवा डिवेन्चर भनेको के हो?
डिवेन्चर बैंक तथा वित्तीय संस्थाले पूँजी बढाउन प्रयोग गर्ने एउटा साधन हो। विशेषतः कुनै पनि नयाँ परियोजना संचालन गर्नको लागि आवस्यक पूँजी संकलनको लागि डिबेन्चर जारी गरिएको देखिन्छ। डिवेन्चरकै कारण ठूला ठूला परियोजनाहरु संभव भएका छन्।
तर, नेपालमा ठूला परियोजनाको लागि डिबेन्चर भन्दा आइपिओ खोलिन्छ। नेपालमा डिवेन्चरको कारोबार धेरै भएको छैन। राष्ट्र बैंकले बोन मार्केट विकास होस् भन्ने उदेश्यले अनिवार्य डिवेन्चर जारी गर्ने नियम बनाएको हुनुपर्छ। नेपाल बाहेक भारत, श्रीलंका तथा हङकङमा यसको कारोबार राम्रो हुन्छ।
आइपिओ जस्तै यो पनि पूँजी निर्माणको महत्वपूर्ण साधन हो। देशमा छरिएको पैसालाई फाइनान्सियल सिस्टममा ल्याई पूँजी निर्माणमा सहभागी गराउन पनि डिवेन्चर महत्वपूर्ण छ।
सनराइज बैंकले पनि ३ अर्बको डिवेन्चर खुल्ला गरेको छ। वार्षिक १०.२५ प्रतिशत ब्याज दुई पटक दिने गरी ७ वर्षको डिबेन्चर जारी गरेका हौं।
लगानीकर्ताले कुन बैंक वा कम्पनीको डिवेन्चर किन्दा फाइदा हुन्छ भनेर कसरी छनौट गर्ने?
पहिलो, कुनै पनि संस्थाले डिवेन्चर जारी गर्दा त्यसका फिचरहरु हेर्नुपर्छ। दोस्रो, लगानी गर्ने भनेको प्रतिफलको लागि हो। जहाँ बढी प्रतिफल त्यहाँ नै लगानी गर्ने। अहिले सनराइज बैंकले पनि १०.२५ प्रतिशत प्रतिफल दिने भनेको छ।
यसलाई केही तुलना गरेर हेर्न सकिन्छ। अहिले सबै ए क्लासका बैंकको मुद्दती निक्षेपमा बढीमा ९.२ प्रतिशतसम्मको ब्याज पाइन्छ। त्यसकारण राम्रो बैंकको डिवेन्चरमा लगानी गर्दा त्यसले राम्रो प्रतिफल दिन्छ।
तेस्रो कम्पनीको वित्तीय स्थिति कति राम्रो छ भन्ने पनि हुन्छ। कुन कम्पनीलाई के को आधारमा राम्रो भन्ने भन्ने पनि हुन सक्छ। क्रेडिट रेटिङ बाट पनि यसलाई तुलना गर्न सकिन्छ।
राम्रो ग्रेडमा रेटिङ भएका कम्पनी विश्वासिलो मानिन्छ। कम रेटिङ भएका कम्पनीले राम्रो प्रतिफल दिने भएपछि फिर्ता नपाइने पो हो कि भन्ने हुन सक्छ। फेरि ब्याज धेरै कमाउने दाउमा साँवामा जुवा खेलेका हुन्छन्। जोखिम कति लिने भन्ने अर्काे कुरा भयो।
त्यो क्रेडिट रेटिङमा सनराइज बैंकको ए माइनस पाएको छ, यसबाट सनराइज बैंकमा लगानीको प्रतिफल राम्रो छ भन्ने देखिन्छ। चौथो कुरा त कम्पनीको ‘पे ब्याक’ क्षमता पनि हो। जसको पे ब्याक क्षमता राम्रो छ, पैसा सुरक्षित गर्ने र समयमानै फिर्ता गर्ने क्षमता पनि उस्तै राख्छ भन्ने देखाउँछ।
सनराइजको झन्डै ९ अर्बको पूँजी छ। ३/४ अर्बको रिजर्भ छ। करिब १४ अर्बको नेट वर्थ छ। त्यो सबै हेर्दा सनराइज बैंक ‘रिस्क अफ लस एब्जर्ब’ गर्न सक्ने क्षमतामा छ भन्ने देखाउँछ। त्यसैले यस्ता बैंकमा लगानी गर्दा डुब्दैन भन्नेमा ढुक्क हुन सकिन्छ।
बैंक आफैले पनि कस्तो पफर्मेन्स गरिरहेको छ भन्ने हेर्नुपर्छ। बैंकको वार्षिक तथा त्रैमासिक रुपमा प्रकाशन हुने रिर्पोटका आधारमा पनि त्यसको मूल्याङ्कन गर्न सकिन्छ। सनराइजको कुरा गर्दा ३७ प्रतिशतको ग्रोथ छ।
दुई हप्ता अघिमात्रै पनि नेप्सेले सबैभन्दा राम्रो पफर्मेन्स भएको कम्पनीको रुपमा लिस्टीङ गरेको थियो। त्यसको आधारमा पनि लगानी गर्ने संस्था छान्न सकिन्छ। त्यो लिस्टको ए ग्रुपमा एउटा सनराइज मात्रै थियो।
नियमनकारी निकायसँगको कम्युनिकेसन, इन्फर्मेसन र नीति नियमको परिपालना जस्ता विषयमा बैंक निकै अपडेटेड छ भन्ने कुरा देखिन्छ।
त्यस्तै बैंकको नेटवर्क विस्तार कस्तो छ भन्ने कुराबाट पनि डिवेन्चर छान्न सकिन्छ।
डिवेन्चर सुरक्षित हुन्छ भन्ने आधार के हो ?
लगानीकर्ताले जहाँ लगानी गरेपनि त्यसको प्रतिफल राम्रो आउँछ भन्ने प्रत्याभुति हुनुपर्छ। आइपिओमा लगानी गर्दा राम्रो कम्पनीमा स्वतस्फूर्त लगानी गरिन्छ। कम्पनीले नाफा कमाए ठिकै छ मेरो पनि नाफा हुन्छ कम्पनीले घाटामा गए मेरो पनि पैसा डुब्यो भन्ने हुन्छ।
तर, डिबेन्चर त्यस्तो होइन। यसको एउटा परिपक्व अवधि (मेचर्ड पिरियड) हुन्छ। अहिले हामीले जारी गरेको डिवेन्चर ७ वर्षका लागि हो।
अब मैले ३ अर्बको डिवेन्चर जारी गर्दै छु। अबको सात वर्षपछि मैले एकै पटक ३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ। त्यतिबेला एकैपटक पैसा भुक्तानी गर्दा क्रेडिटक्रन्च लगायतका अवस्था पनि हुन सक्छ।
तर हामीले डिवेन्चर जारी गर्दा एउटा कोष पनि बनाएका छौँ र त्यहाँ हरेक वर्ष नाफाबाट २० प्रतिशत जम्मा गर्छौँ। अहिले ३ अर्बको २० प्रतिशतका दरले फन्डमा राख्दा हरेक वर्ष ६० लाख नाफाबाट कटाएर फन्डमा राखिन्छ। वर्षको ६० लाख भएपछि ५ वर्षमा नै त्यो फन्डमा ७ वर्षपछि डिवेन्चर होल्डरलाई तिर्न पुग्ने पैसा जम्मा हुन्छ।
त्यसैले पनि सनराइजको डिबेन्चर नडराई लिन सकिन्छ। पैसा फिर्ता नआउला कि भनेर शंका गर्नै पर्दैन।
सबैले नाफा गर्छन् भन्ने त छैन। त्यसैले डिवेन्चरमा गरेको लगानी पक्का फिर्ता आउँछ भन्ने कसरी विश्वास दिने?
यो सबैले बुझ्नु आवस्यक छ। संस्था नाफामा पटक्कै गएन भने कहाँबाट लगानी फिर्ता आउँछ भन्ने चिन्ता धेरै लगानीकर्तामा हुन सक्छ। त्यसको लागि बैंकको इतिहास हेर्नुपर्छ। त्यो बैंक कत्तिको ‘क्यापिटलाइज’ भएको छ भन्ने कुरा हेर्नु पर्छ।
सामान्यतया ११ प्रतिशत पूँजी पर्याप्तता हुनुपर्छ भनिन्छ। हाम्रो १३ प्रतिशत अहिले नै छ, त्यो भनेको तोकिएभन्दा बढी ‘क्यापिटलाइज्ड’ हो।
अहिले सर्वसाधारणसँग पैसा छ। तर एक वा दुई वर्षे मुद्दतीमा जम्मा गरेका छन्। दुई वर्षपछि आएको ब्याज थपेर नयाँ मुद्दती खाता खोलेर राख्ने चलन बढेको छ। कोही बचत गरेर विदेशमा जान्छन्, कोही बुढाबुढी भइसके, कसैले आफ्नो सन्तानको लागि भनेर बचत गरेर राखेका हुन्छन्।
पछिल्लो ७ वर्षको तथ्याङक हेर्दा मुद्दती निक्षेपमा ४ देखि १३ प्रतिशतसम्म ब्याजदरको उतार चढाव देखियो। अबको ७ वर्षमा पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन।
त्यस्तो अस्वभाविक उतार चढाव हुने नेपाली बजारमा डिवेन्चरमा लगानी गरेर ५/७ वर्षसम्म पैसाको जोखिम लिन चाहेको देखिन्न। मुद्दतीमा बचत गर्नेहरुको लागि मेरो विशेष अनुरोधः राम्रो कम्पनी छानेर डिबेन्चरमा लगानी गर्नुहोस्। मुद्दतीमा हरेक वर्ष बचत रिन्यु गर्न पनि समस्या हुन्छ।
त्यसैले मुद्दती निक्षेपकर्तालाई वर्षेनि झन्झट हुन्छ। यसबाट बच्नको लागि पनि डिवेन्चरमा लगानी गर्दा राम्रो हुन्छ।
भोलिका दिनमा घट्छ मात्रै भन्न पनि सकिँदैन बढेर ११ सम्म पुग्ला। अहिलेनै हामीले सवा दश दिएका छौँ। पछि बढ्ला भनेर कुर्नु भन्दा अहिले नै त्यसकै हाराहारीमा लगानी गर्दा प्रतिफल निश्चित भयो।
त्यसैले कुनै पनि मुद्दती बचत कर्ताको लागि र केही वर्ष बचत गर्छु भन्नेको लागि यो निकै राम्रो अवसर हो, यसलाई नछुटाउनुहोस्। अर्काे, अलिकति पैसा भएकाले सेयर किन्नमा लगानी गरेका छन्। सेयरमा लागनी गर्दा प्रतिफलका रुपमा पाउने बोनस मात्रै हो। यदि कम्पनी घाटामा गए त्यसले केही रिटर्न दिँदैन। तर डिवेन्चरमा त्यस्तो जोखिम हुँदैन। त्यसैले लगानीको लागि केही पैसा छ भने अहिले डिबेन्चरमा लगानी गर्दा बढी रिटर्न आउँछ।
सनराइजले यसअघि ५ वर्षको डिवेन्चर ल्याएको थियो, अहिले ७ वर्षको ल्यायो, अवधिका आधारमा लगानीकर्तालाई कुन उपयुक्त ?
लगानीकर्ताको आफ्नो आवश्यकता प्रमुख हो। छोटो समयमै पूँजी चाहिने अवस्था भयो भने लामो समयको डिबेन्चरमा लगानी गर्दा समस्या थपिएला, लामो समयको लागि लगानी गर्ने फन्ड छ भने उपयुक्त भयो।
सामान्यतः कम समयको डिवेन्चरमा प्रतिफल कम हुन्छ र लामो समयको डिवेन्चरमा केही बढी प्रतिफल पाइन्छ। तीन वर्षको डिबेन्चर छ भने ५ प्रतिशत मात्रै प्रतिफल हुन सक्छ, पाँच वर्षको छ भने १० प्रतिशत तथा ७ वर्षको छ भने १०.२५ भयो।
त्यसैले लगानीकर्तालाई कति समयसम्म आफूसँग भएको पैसा चाहिदैन भन्ने निश्चित भएअनुसार लगानी गर्न सकिन्छ। पारिवारिक योजना अनुसारको लगानी योजना बनाउँदा हुन्छ।
अर्को कुरा पैसा चाहिएका बेला बीचमै डिवेन्चर बेच्न पनि सकिन्छ। डिबेन्चर दोस्रो बजारमा खरिद विक्री हुन्छ। त्यस्तै बैंकमा धितोमा राखेर पनि ऋण लिन सकिन्छ।
आवेदन दिएअनुसारको डिवेन्चर पर्ने संभावना कति हुन्छ?
हो सेयरमा जस्तै निवेदनकै आधारमा दिने हो, तर यसको पर्ने संभावना भने सेयरमा भन्दा बढी हुन्छ। यो निवेदन परेको आधारमा पाउने हो। हाम्रो डिवेन्चरलाई हेर्ने हो भने, ३ अर्ब रुपैयाँ बराबरको निवेदन आएमा सबैले पाउने भए। त्यो भन्दा बढी रकमको निवेदन आएमा आफ्नो अपेक्षा भन्दा कम पाए।
ऋणपत्र बजारमा सर्वसाधारणको चासो कत्तिको पाउनुहुन्छ?
सर्वसाधारणको चासो राम्रो छ। हाम्रो देशैभरिका शाखाहरुमा लगानीकर्ताहरु सोध्न आएका छन, भन्ने सुनिएको छ। हाम्रो म्याचुरिटि पिरियड र ब्याजदर धेरैले मन पराएका छन्।
तपाईहरुको डिवेन्चर कसरी किन्ने ?
यो सेयर किनेजस्तै प्रकृया हो। यसको लागि पनि डिम्याट खाता चाहिन्छ। त्यो जुनसुकै क्यापिटलबाट लिन सकियो। त्यसपछि अनलाईनबाट कारोबार गर्नेले मेरो सेयर एपबाट पनि निवेदन दिन सकियो।
त्यो बाहेक हाम्रो जुनसुकै शाखाबाट पनि यसको लागि निवेदन दिन सकिन्छ। हामीले ३ अर्बको यो डिबेन्चर ४ दिन समयावधिको लागि निकालेका छौँ। त्यसैले यो डिवेन्चर खरिद आज आइतबारसम्म खरिद गर्न सकिनेछ। अहिले न्युनतम २५ र बढीमा ३ लाख कित्तासम्म किन्न सकिन्छ।