नेपाल राष्ट्र बैंकले कृषि प्रबर्द्धनका लागि बैंकिङ लगानी बढाउन विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कृषि उत्पादन बढाउनका लागि ऋण लगानी बढाउने, प्रविधिको प्रयोग गरी संस्थागत विकास गरिने घोषणा गरेका छन्।
उनले कृषि विकास बैंकलाई कृषि परियोजनामा लगानी गर्न अगुवा बैंकको रुपमा विकास गरिने जानकारी दिए। त्यस्तै किसान क्रेडिट कार्ड जारी गरिने उनले घोषणा गरेका छन्।
बैंकहरुलाई कृषिमा तोकिएको लगानी गर्नका लागि कृषि ऋणपत्र जारी गर्न पाउने कानूनी व्यवस्था ल्याइने उनले जानकारी दिएका छन्।
त्यस्तै कृषिमा अनिवार्य गर्नुपर्ने लगानीको सीमा पनि राष्ट्र बैंकले बढाइदिएको छ। अबदेखि विकास बैंकले आफ्नो कुल कर्जा लगानीको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीहरुले न्यूनतम १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम, उर्जा र पर्यटन लगायत तोकिएका क्षेत्रमा २०८१ असार मसान्तसम्ममा प्रवाह गर्नुपर्ने छ।