बैंकहरुले कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्ने भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै २०८० असार मसान्तसम्म कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको हो। २०८० असार मसान्तसम्म कुल १ खर्ब ऋण लगानी गरेका बैंककाे कृषि क्षेत्रमा १५ अर्ब लगानी हुनुपर्नेछ।
हाल बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहँदै आएको छ। त्यस्तै कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गरिने गर्भनर महाप्रसाद अधिकारीले घोषणा गरे।
सो बैंकले कृषि ऋणपत्र पनि जारी गर्न सक्नेछ। जुन रकमबाट कृषि क्षेत्रमै लगानी बढ्ने राष्ट्र बैंकको भनाइ छ। किसानलाई वित्तीय साधन तथा सूचना प्राप्त गर्नका लागि कृषि विकास बैंकमार्फत किसान क्रेडिट कार्ड प्रदान गर्ने व्यवस्था मिलाइने उनले घोषणा गरे।
कृषि विकास बैंकका तालिम केन्द्रबाट कृषि तालिमको व्यवस्था गर्न आवश्यक संरचना तथा व्यवस्थापन मिलाइने उनले बताए।