बैंकहरुले बचतकर्तालाई दिने ब्याजदर फेरि घटाएका छन्। यसअघि गत वैशाखदेखि लागू हुनेगरी १ प्रतिशत ब्याजदर घटाएका बैंकले अहिले फेरि न्यूनतम ०. ५ प्रतिशतदेखि १.५० प्रतिशतसम्म घटाएका हुन्।
सार्वजनिक सूचना जारी गर्दै बैंकहरुले मुद्दती र बचत दुवैमा ब्याजदर घटाएका हुन्। मुद्दती निक्षेपमा धेरैजसो बैंकहरुले १ प्रतिशत ब्याजदर घटाएका छन्।
यसअघि व्यक्तिगत मुद्दतीमा ८. ७५ प्रतिशतसम्म ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले साउनदेखि घटाएर केहीले ८. २५ र अधिकांशले ७. २५ प्रतिशत कायम गरेका छन्।
त्यस्तै संस्थागत मुद्दतीमा ७. ५ प्रतिशत दिँदै आएकोमा घटाएर केहीले ७ प्रतिशत कायम गरेका छन् भने अधिकांशले साढे ६ मा झारेका छन्।
त्यस्तै यसअघि बचत खातामा साढे ६ प्रतिशतसम्म ब्याज दिँदै आएका बैंकहरुले अहिले अधिकतम दर नै साढे ५ प्रतिशतमा झारेका छन्।
बैंकहरुमा अहिले लगानीयोग्य रकम पर्याप्त छ। ऋण प्रवाहमा कमी आउँदा पैसा थुप्रिन थालेपछि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएका हुन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हाल १ खर्ब ७८ अर्ब रुपैयाँ बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ।
बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम भएकाले स्वभाविक रुपमा ब्याजदर घटेको नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी अधिकृत अनिल शर्माले बताए।
‘बैंकहरुलाई लगानीयोग्य रकमको अभाव छैन, त्यसकारण यसअघिको भद्र सहमति पनि हटेको हो’ उनले भने।
घर र गाडी किन्नेलाई सस्तो ब्याजदरको अफर
निक्षेपमा ब्याजदर घटाएर बैंकहरुले घर तथा गाडीमा सस्तो ब्याजको अफर ल्याउन थालेका छन्। घर र गाडीमा बैंकहरुबीच सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा नै देखिएको छ।
एभरेष्ट बैंकले सस्तो ब्याजदरमा १ करोड ५० लाख रुपैयाँसम्मको हाउजिङ लोन योजना ल्याएको छ। यस योजनामा बैंकले आधार दरमा जम्मा ०.२ प्रतिशतदेखि २ प्रतिशतसम्मको ब्याज मात्रै लिने जनाएको छ।
असार मसान्तसम्म बैंकको आधार दर जम्मा ८.०५ प्रतिशत मात्रै छ। यसअनुसार हाउजिङ लोन लिनेले जम्मा ८. २५ देखि १० प्रतिशतको बीचमै ऋण पाउने छन्।
त्यस्तै गाडी कर्जाका लागि पनि बैंकले आधार दरमा जम्मा १. ५ प्रतिशत मात्रै ब्याज लिने भएको छ। असार मसान्तसम्मको आधार दरअनुसार साढे ९ प्रतिशतमा बैंकले गाडी कर्जा दिनेछ।
त्यस्तै हिमालयनले घर र गाडी किन्न चाहनेलाई ८. ४९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ।
सनराइज बैंकले ८. ९५ प्रतिशतको ब्याजमा घर किन्नका लागि कर्जा दिनेगरी योजना ल्याएको छ। बैंकले घर किन्नका लागि ४० वर्षसम्मको अवधिका लागि यस्तो कर्जा योजना ल्याएको हो।
एनआइसी एसिया बैंकले ८. २५ प्रतिशतमै घर र गाडी कर्जा दिने योजना ल्याएको छ। ग्लोबल आइएमई बैंकले ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर कर्जा लिन पाउनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने बैंकले जनाएकाे छ।
यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा दिने योजना ल्याएकाे छ।
नविल बैंकले वार्षिकोत्सवको अवसरमा सीमित अवधिकाे लागि भन्दै ७. ९९ प्रतिशत ब्याजदरमै घर किन्न कर्जा दिने योजना ल्याएको छ। सानिमा बैंकले १ वर्षसम्म ब्याज नबढ्नेगरी सवारी कर्जा योजना ल्याएको छ।
यी मात्रै होइन, अधिकांश बैंकहरुले घर र गाडी कर्जाको ब्याजदर एकल अंक (बढीमा ९.९)को प्रतिशतमा झारेका छन्।