नविल बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गएको वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो वर्ष ४ अर्ब २३ करोड नाफा कमाएको बैंकको नाफा यो वर्ष १५ प्रतिशतले घटेको छ। खराब कर्जा तथा अन्य नोक्सानीको जोखिम न्यूनीकरणका लागि अघिल्ला वर्षको तुलनामा धेरै रकम खर्च गर्नुपरेका कारण नाफामा असर परेको बैंकल जनाएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो नियमका कारण यस्तो रकम बढाउनुपरेको हो।
बैंकको कूल ब्याज आम्दानी १६ अर्ब ५२ करोड रुपैयाँ छ भने खुद ब्याज आम्दानी ७ अर्ब ५ करोड रुपैयाँ रहेको छ। बैंकको कूल ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा बढेको छ भने खुद ब्याद आम्दानी घटेको छ। बैंकले लिने ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा बढेपनि दिने ब्याज आम्दानी घटेको छ। यही कारण खुद ब्याज आम्दानी घटेको हो।
बैंकले शुल्क तथा कमिसनबाट गर्ने आम्दानी गएको वर्ष अघिल्लो वर्षको तुलनामा बढेको छ। अघिल्लो वर्ष १ अर्ब २२ करोड आम्दानी भएकोमा गएको वर्ष १ अर्ब ३० करोड पुगेको छ। गएको वर्ष ट्रेडिङ आम्दानी बढाउन सफल भएपनि बैंकले अन्य व्यापारबाट हुने आम्दानी बढाउन सकेको छैन। सोही कारण समग्रमा सञ्चालन आम्दानी घटेको छ। गएको वर्ष बैंकले खुद सञ्चालन आम्दानी ८ अर्ब ५१ करोड रुपंयाँ गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब भएको थियो।
सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा बढाएको बैंकको सञ्चालन मुनाफा ५ अर्ब १३ करोड रुपैयाँ गरेको छ। यस्तो नाफा अघिल्लो वर्ष ६ अर्ब ५ करोड थियो।
बैंकको वितरणयोग्य नाफा गएको वर्ष ३ अर्ब ४ करोड रुपैयाँ भएको छ। यस्तो नाफा अघिल्लो वर्ष ३ अर्ब ७३ करोड थियो।
बैंकले गएको वर्ष कूल १ खर्ब ९० अर्ब निक्षेप संकल गरेर १ खर्ब ४८ अर्ब ऋण परिचालन गरेको छ।
१० अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकसँग १५ अ्ब ७० करोड जगेडा रहेको छ। ०.९७ प्रतिशत खराब कर्जा पुगेको बैंकको प्रतिशेयर आम्दानी ३५.३२ रुपैयाँ रहेको छ।