नेपालभित्र क्यासिनो सञ्चालन गर्नेहरुले विदेशी मुद्राको कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् यस्तो व्यवस्था गरेको हो। केन्द्रीय बैंकले विदेशी विनिमय कारोवार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको हो।
यसबाट विदेशी मुद्राको कारोबार गर्न चाहिने क्यासिनाेले प्रति कारोवार स्थानका लागि पच्चीस लाख रुपैयाँ बराबरको २ वर्ष अवधिको बैंक जमानत राख्नुपर्ने छ। त्यस्तै इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ तिर्नुपर्छ।
उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोवार स्थानको लागि दश लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ। यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गरिसक्नुपर्छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले पनि यस्तो इजाजत लिनका लागि शाखा संख्या खुलाएर निवेदन दिनुपर्छ। तर शुल्क भने एकमुष्ट बुझाउनुपर्ने छ।
बैंक तथा वित्तीय संस्थाहरुले अब कारोबार गर्ने शाखपिच्छे इजाजत लिनुपर्ने छैन। यसअघि लिएका त्यस्ता इजाजत विनियमावली लागू भएको २ महिनाभित्र एकीकृत विवरण बुझाउनुपर्ने छ।