विश्वव्यापी कोरोना महामारीका बाबजुद पनि रेमिट्यान्स प्रवाह भने खासै प्रभावित भएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको वर्ष नेपालमा आउने रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ।
केन्द्रीय बैंकका अनुसार गएको वर्ष ८ खर्ब ७५ अर्ब २ करोड ७० लाख रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रिएको छ। अघिल्लो वर्ष भने १६ प्रतिशतले बढेर ८ खर्ब ७९ अर्ब रेमिट्यान्स आएको छ।
अमेरिकी डलर टर्ममा भने रेमिट्यान्स ३.३ प्रतिशतले घटेको छ। गएको वर्ष ७ अर्ब ५३ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष भने ७ अर्ब ७९ करोड डलर आएको थियो।
पछिल्लो समय कोरोना भाइरस महामारीका कारण रेमिट्यान्स प्रवाह न्यून हुने विभिन्न अध्ययनहरुले देखाएका थिए। स्वयम् नेपाल राष्ट्र बैंकले पनि रेमिट्यान्स केही घट्ने प्रारम्भिक अनुमान गरेको थियो। यद्यपी गएको जेठमा इतिहासकै एकल महिनामा इतिहासकै धेरै रेमिट्यान्स भित्रिएको थियो।
गएको वर्ष वस्तु व्यापार घाटा १७ प्रतिशतले घटेर १० खर्ब ६१अर्बमा सिमित भएको छ। अघिल्लो वर्ष १३ प्रतिशतले बढेर १२ खर्ब ८४ अर्ब पुगेको थियो। गएको वर्ष कूल आयात २ खर्ब बढले घटेको छ। अघिल्लो वर्ष १२ खर्ब ३९ अर्बको आयात भएकोमा गएको वर्ष जम्मा १० खर्ब १२ अर्बकोमात्र आयात भएको छ। गएको वर्षको अन्तिम त्राइमास लकडाउन भएकाले सो अवधिमा अत्यावश्यक बाहेकका वस्तुको आयात करिब न्यून भएको थियो। समग्रमा आयात १६ प्रतिशत घटेको छ भने आयात ५ प्रतिशतले घटेको छ।
यो वर्ष सेवा खाता नाफामा गएको छ। अघिल्लो वर्ष १५ अर्ब २२ करोडले घाटामा गएको सेवा खाता यो वर्ष १ अर्ब २१ करोडले बचतमा आएको आएको छ। सेवामा यो वर्ष विदेशीने खर्च घटेकाले खाता बचतमा देखिएको हो। केन्द्रीय बैंकका अनुसार गएको वर्ष कूल सेवाबाट १ खर्ब ५६ अर्ब ३५ करोड आम्दानी भएको छ। यसमा पर्यटनबाट ६० अर्ब आम्दानी भएको छ भने अन्य शिर्षकबाट ८३ अर्ब आम्दानी भएको छ।
त्यस्तै गएको वर्ष सेवा खर्चमा पर्यटनमा १५ अर्बले न्यून खर्च भएको छ। त्यस्तै शिक्षाका नाममा हुने खर्च पनि ४४ प्रतिशतले घटेको छ। शिक्षा र पर्यटनका नामबाट विदेशीने रकम गएको वर्ष ४० प्रतिशतले घटेको छ। सेवा खाता बचतमा जानुको कारण यी दुई मुख्य शिर्षकका खर्च न्यून हुनु हो। यातायातमा हुने खर्च भने खासै घटेको छैन।
वस्तु व्यापार घाटा न्यून भएको, सेवा खाता पनि बचतमा गएको र रेमिट्यान्समा खासै गिरावट नआउँदा चालु खाताको घाटा पनि न्यून भएको छ। अघिल्लो वर्ष २ खर्ब ६२ अर्बले घाटामा रहेको यो खाता गएको वर्ष ३२ अर्बमा सिमित भएको छ।
गएको वर्ष प्रत्यक्ष विदेशी लगानी भने १८ प्रतिशतले बढेको छ। केन्द्रीय बैंकका अनुसार कूल १९ अर्ब ४७ करोड ७८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ। त्यस्तै नेपालमा विदेशी लगानी गरिरहेकाहरुले लिने लाभांस भने घटेको छ।
शोधनान्तर बचतले छलाङ हानेको छ। अघिल्लो वर्ष ६७ अर्ब घाटामा रहेको यस्तो बचत गएको असार मसान्तसम्म २ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।
मुलकभित्र आउने विदेशी मुद्रा र बाहिरिने मुद्रा यस्तो हिसाबमा बाहिरिनेभन्दा भित्रिने धेरै भएमा बचत हुन्छ भने भित्रिने भन्दा बाहिरिने धरै भएमा घाटा हुन्छ।