बैंकहरुले पुनर्कर्जा लिनका लागि बोलाउन थालेका छन्। गएका केही दिनदेखि बैंकहरूले यस्तो कर्जा लिनका लागि सम्पर्क गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत् पुनर्कर्जाको दायरा फराकिलो बनाउँदै महामारीबाट पीडित व्यवसायीलाई राहत मिल्ने दाबी गरेको छ।
यही फ्रेमवर्कमा कर्जा दिन बैंकहरूले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्यता पुगेकाहरूले कर्जाका लागि बैंकमा सम्पर्क राख्न आग्रह गरेका हुन्।
सानिमा, सनराइज, सिद्धार्थ बैंकलगायतकाले निश्चित समय तालिका दिएर आफूले सुविधा लिएको शाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चालु आर्थिक वर्षका लागि पुनर्कर्जा कोषको रकम १ खर्ब बनाएको छ। एउटा बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिइसकेपछि फेरि अर्को संस्थाबाट यस्तो कर्जा लिन पाइँदैन।
राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी नयाँ कार्यविधि तय गरेको छ। जसअनुसार घरेलु तथा साना उद्यमीलाई पनि यस्तो कर्जामा समावेश गरिएको छ। साथै कर्जा प्रक्रियामा केही सहजता दिलाइएको छ।
यो कर्जाको ब्याजदर तुलनात्मक रूपमा सस्तो हुन्छ। एकमुष्ट रूपमा प्रदान गरिने यस्तो कर्जा ऋणीले बढीमा १ वर्षसम्म प्रयोग गर्न सक्नेछन्। कोरोनाबाट प्रभावितले पनि यस्तो कर्जा पाउने नयाँ व्यवस्था गरिएको छ।
बैंकहरूले तोकेका कोरोनाबाट अति प्रभावित ऋणीले १ वर्षसम्म तथा मध्यम र न्यून प्रभावित क्षेत्र भनी तोकिएकाले अधिकतम् ६ महिनासम्मको अवधि रहने गरी कर्जा पाउने छन्।
कस्ता व्यवसायी पुनर्कर्जाका लागि योग्य हुन्छन्?
राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यमीलाई प्रतिग्राहक १५ लाख रुपैयाँसम्म र मध्यम तथा विशेष उद्यमीलाई साधारण पुनर्कर्जा ५ करोड रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थाहरूमार्फत् प्रदान गर्दछ।
लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा लिनका लागि
प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेता पनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका व्यवसाय।
प्राकृतिक प्रकोपका कारण पुनरूत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमी।
वैदेशिक रोजगारीबाट फर्केका उद्यमी।
कृषि उत्पादन तथा प्रशोधन, पशुपन्छी पालन, ह्याचरी, मत्स्यपालनजस्ता कृषि उद्यमी।
कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायी बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यमी।
विशेष पुनर्कर्जाका लागि योग्य
सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायी न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसाय।
रूग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका व्यवसाय।
कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरू।
साधारण पुनर्कर्जाका लागि योग्य
जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधी उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योग।
पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रूपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्ने व्यवसायी।
कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायी।
कति तिर्नुपर्छ ब्याज?
बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाटै रकम लिएर सो रकम तोकिएबमोजिमका व्यवसायीलाई दिन्छन्। यस्तो कर्जा दिएवापत बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट बढीमा वार्षिक ५ प्रतिशतसम्म ब्याज लिन पाउँछन्।
पुनर्कर्जाको प्रकारअनुसार ब्याजदर फरक फरक छ। लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा लिनेले ५ प्रतिशत ब्याज बुझाउनुपर्छ। यसमा बैंकहरूबाट राष्ट्र बैंकले २ प्रतिशत ब्याज लिन्छ, ३ प्रतिशत ब्याज बैंककै आम्दानी हो।
त्यस्तै विशेष पुनर्कर्जा लिनेले बैंकलाई जम्मा ३ प्रतिशत ब्याज बुझाउनु पर्छ। यस्तो कर्जामा राष्ट्र बैंकले बैंकहरूबाट १ प्रतिशत ब्याज लिन्छ। २ प्रतिशत ब्याज बैंकहरूको कमाइ हो।
साधारण पुनर्कर्जा लिनेले बैंकलाई ५ प्रतिशत ब्याज बुझाउनु पर्छ। यसमा ३ प्रतिशत ब्याज राष्ट्र बैंकको हो भने अर्को २ प्रतिशत बैंकहरूको कमाइ हो।
कस्ताले पाउँदैनन् यस्तो कर्जा ?
१ कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि ओभरड्राफ्ट, घर जग्गा कर्जा, सवारी, घरायसी सामग्री, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि।
तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन।
ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जालगायतका अन्य अनुदान प्राप्त कर्जा लिएकाहरू।
पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अन इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसाय।
चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य उद्योग/व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसाय।
के-के कागजात चाहिन्छ पुनर्कर्जा लिन?
पुनरकर्जा सुविधाको लागि निवेदन
कम्पनीको लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षको वित्तीय विवरण
पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र
कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण
कायम ब्याजदर देखिने System Generated Customer Liability Report
निर्यात पुनरकर्जाको हकमा निर्यात सम्बन्धी कागजात
विगत वर्षहरुमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात।
निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात।
ग्राहक ऋणीले यस भन्दा अगाडि उपयोग गरेको पुनरकर्जा सुविधाको रकम तथा अवधि सम्बन्धी विवरण समेत आवेदनमा खुलाउनु पर्नेछ ।
ग्राहक ऋणीले अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा।
रोजगारी सृजना, विदेशी मुद्रा आर्जन लगायत अर्थतन्त्रमा पुर्याएको योगदान सहितको कम्पनीको संक्षिप्त विवरण।