डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिएपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले घटेको छ। केही सेयर लगानीकर्ताले खतिवडालाई पुँजीबजार अनुकुल नभएको आरोप लगाउँदै आएका थिए।
अर्थमन्त्री भएपछि खतिवडाले बढाएको पुँजीगत लाभकर र बेलाबेलामा दिने गरेको अभिव्यक्तिलाई लिएर सेयर बजारका केही लगानीकर्ता उनीप्रति शशंकित रहँदै आएका थिए।
राष्ट्रियसभा सदस्यमा म्याद थप नभएपछि गत शुक्रबार मन्त्री पदबाट खतिवडाले राजीनामा दिएका थिए। खतिवडाको राजीनामापछि आइतबारको बजारलाई अर्थपूर्ण रुपमा हेरिएको थियो।
खतिवडालाई पुँजी बजारको विरोधी भन्नेहरु बजारमा यस दिन ठूलो वृद्धि हुने भन्दै समाजिक सञ्जालमा समेत आफ्ना अभिव्यक्ति राख्दै आएका थिए।
तर बजार ११ बजे खुलेदेखि नै ओरालो लाग्यो। बजार बन्द हुँदा १०. ४५ अंकले परिसूचक नेप्से घट्यो। कुल २ अर्ब ७८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कारोबार रकममा पनि अघिल्ला दिनका तुलनामा केही कमी आएको हो।
ब्यापारबाहेक बजारका सबै समूहहरु रातै भए। ब्यापार समूह २२ अंकले बढेको छ। बैंकिङ ८, होटल २५, विकास बैंक २०, जलविद्युत ५, फाइनान्स २, निर्जीवन बीमा २५, उत्पादन ४० अन्य १२, माइक्रोफाइनान्स १० र जीवन बीमा समूह २६ अंकले घटेका छन्।
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल बैंकको ११ करोड रुपैयाँको कारोबार भएको छ। नेको इन्स्योरेन्स, अरुण काबेली पनि कारोबारका आधारमा अगाडि रहे।
उन्नति सहकार्य, अरुण भ्याली, जोशी हाइड्रो, राधी जलविद्युत र युनिभर्सल पावरको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ। एनआरएन इन्स्फ्रास्ट्रक्चरको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले घटेको छ। त्यस्तै रसुवागढी हाइड्रोको मूल्य ५ प्रतिशतले घट्यो।