व्यक्तिगत नाममा घर र गाडी किन्नेलाई ब्याजदर घटबढ नहुनेगरी ऋण प्रदान गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हालै निर्देशन दिएको छ।
अब व्यक्तिगत नाममा घर र गाडी किन्नका लागि ऋण लिँदा ब्याजदर घटबढ नहुने (स्थिर) वा परिवर्तन हुनेमध्ये एउटा प्रकारको ऋण ग्राहकले छनौट गर्न सक्छन्।
स्थिर ब्याजदरमा जति अवधिको लागि ऋण लिइएको हुन्छ, सो अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन। यसअघि घर र गाडी खरिदका लागि कर्जा लिइसकेकाले पनि अब आफ्नो ब्याजदर स्थिर हुनेगरी बैंकसँग नयाँ सम्झौता गर्न सक्छन्।
कसैले ७ वर्षे अवधिको लागि बैंकबाट १० प्रतिशत ब्याजमा ऋण सुविधा लिएर गाडी खरिद गरेको खण्डमा चुक्ता अवधि ७ वर्षसम्म नै यस्तो ऋणको ब्याजदर बैंकले परिवर्तन गर्न पाउँदैनन्, अर्थात ७ वर्षसम्म नै ब्याजदर १० प्रतिशत हुन्छ।
यसबाट ७ वर्षसम्म ऋणीले तिर्ने मासिक वा त्रैमासिक किस्ताको रकममा कुनै तलमाथि पर्दैन।
बारम्बार ब्याज बढ्ने समस्या नहुने भएकाले निश्चित आम्दानी हुनेलाई यो सहज रहेको बताउँछन् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला।
‘बैंकले ब्याज बढाउँदा थप रकम कसरी तिर्ने, कहाँबाट जुटाउने जस्ता तनाव ऋणीलाई अब रहँदैन्, जति अवधिको ऋण हो सो समयसम्म ब्याजदर बढ्दैन’ कोइरालाले भने।
तर ग्राहकलाई परिवर्तनशील ब्याजदरको अर्को सुविधा पनि दिइएको छ। राष्ट्र बैंककै निर्देशनमा स्थिर वा परिवर्तनशील ब्याजदर छनौट गर्ने अधिकार ग्राहकलाई हुने स्पष्टसँग उल्लेख छ।
परिवर्तनशील ब्याजदरमा बैंकको आधार दर घटबढ भएअनुसार ब्याजदर घटबढ हुन सक्छ। हालसम्म प्रायः बैंकहरुले यही व्यवस्था कायम गरेका थिए।
यस्तो व्यवस्थामा आज ९ प्रतिशत ब्याजदरमा गाडी वा घर कर्जा लिएको व्यक्तिले केही महिनापछि १० प्रतिशत पनि तिर्नुपर्ने हुन सक्छ वा ८ प्रतिशतमा झर्न पनि सक्छ।
सामान्यतः बैंकको आधार दर बढेमा ऋणको ब्याजदर पनि बढ्छ, घटेमा घट्छ। तर बैंकको आधार दर बढ्छ कि घट्छ भन्ने कुरा संकलन हुने लगानीयोग्य रकम (तरलता) स्थितिले निर्धारण गर्छ।
यदि अहिले ऋण लिइसकेपछि केही महिनापछि तरलता साँघुरिँदै गयो भने ब्याजदर बढ्ने संभावना रहन्छ। तर तरलता झन् बढ्दै गयो भने आधार दर घट्न गई ब्याजदर पनि घट्ने संभावना रहन्छ।
बैंकमा हुने पैसाको माग र आपूर्तिको स्थितिले नै आधार दर र बचतकर्तालाई दिने तथा ऋणीबाट लिने दुबै ब्याजदर तय हुन्छ। परिवर्तनशील ब्याजदरमा ऋण लिनेलाई जोखिम पनि रहेको र लाभ लिने मौका पनि रहेको बैंकर बताउँछन्।
सामान्यतः स्थिर ब्याजदरभन्दा परिवर्तनशील ब्याजदर सुरुआतमा केही सस्तो हुने कोइराला बताउँछन्।
एउटै बैंकबाट उहीं अवधिको लागि एउटाले स्थिर ब्याजदरको र अर्कोले परिवर्तनशील ब्याजदरको ऋण लिँदा स्थिरको दर डेढ, २ प्रतिशतसम्म महँगो हुन सक्ने उनले बताए।
तर पछि तरलता साँघुरिँदै गएमा र आधार दर बढ्दै गएमा स्थिर दरको ब्याज परिवर्तन हुँदैन भने परिवर्तनशीलको बढ्न सक्नेछ।
यस्तो व्यवस्थापछि बैंकहरुले घर र गाडी किन्नका लागि सस्तो अफर ल्याउने होडबाजी समेत अन्त्य हुनेछ। स्थिर दरका लागि र परिवर्तनशीलका लागि छुट्टाछुट्टै ब्याज तोक्न बैंकहरु स्वतन्त्र हुनेछन्।
कुन ब्याजदर छान्ने त ?
यदी ब्याजदर घटेर एकल अंकमा आएको अवस्थामा ऋणीका लागि स्थिर ब्याजदर नै उपयुक्त हुने कोइरालाको भनाइ छ। घर किन्न २५-३० वर्षसम्मका लागि पनि बैंकहरुले ऋण दिने गरेका छन्।
जति लामो अवधि भयो स्थिर ब्याजदर त्यति नै बढी कायम हुन सक्नेछ। ‘हामीले संकलन गर्ने निक्षेप छोटो अवधिको हुन्छ, तर ऋण लामो अवधिको दिनुपर्दा भोलि तरलताको स्थिति अनुमान गर्न पनि सहज हुँदैन, केही जोखिम पनि रहने भएकाले सो अनुसारको स्थिर दर तय हुन्छ’ कोइरालाले भने।
मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर) स्थिति कमी आउँदा, अन्यन्त्र लगानीका अवसरले ऋणको माग बढ्दै जाँदा सामान्यतः तरलता संकट गहिरिन जान्छ।
अहिले ठीक उल्टो अवस्था छ, राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म भुक्तानी सन्तुलन झण्डै ३ खर्ब बचतमा छ, तर ऋणको माग छैन। ‘अहिलेसम्म ऋणको माग बढ्न सकेकाे छैन, अब क्रमिक रुपमा बढ्ने आश छ’ उनले भने।
जसले गर्दा बैंकहरुमा २ खर्बको हाराहारीमा तरलता थुप्रिएको छ। त्यसैले यतिबेला बैंकहरुले घर र गाडी किन्नका लागि सस्तो ब्याजदरका विभिन्न अफर समेत ल्याएका छन्।
बैंकहरुले ती अफर परिवर्तनशील ब्याजदरका लागि ल्याएका हुन्। केहीले १ वर्षसम्म घटबढ नहुनेगरी ल्याएका छन्।
तर १, डेढ वर्षपछि अवस्था फेरिएमा बैंहरुले ब्याजदर बढाउन थाल्छन्। त्यसकारण अहिलेको अवस्थामा स्थिर ब्याजदर उपयुक्त हुन सक्नेछ।
राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आगामी दिनमा स्थिर ब्याजदरकै लागि बैंकहरुबीच प्रतिस्पर्धा हुन सक्नेछ। त्यसो भएमा ग्राहकलाई लाभ हुने कोइरालाको भनाइ छ।