बीमक संघका अनुसार कोरोना बीमा गरेका करिब ९ हजारले भुक्तानी लिइसकेका छन्। अब कागजात पूरा गरेका १८ हजार बढीलाई भुक्तानी हुन बाँकी छ। १९ वटा निर्जीवन बीमा कम्पनीले संयुक्त रुपमा 'पुल' मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका हुन्।
तर दावी भुक्तानीमा ढिलाइ भएको गुनासो आइरहेको छ। बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेलाई सेतोपाटीका कमल नेपालले प्रश्न गरेका छन्, कोरोना बीमा रकम भुक्तानीमा किन ढिलाइ?
प्रस्तुत छ, उनको जवाफको सम्पादित अंशः
कोरोना बीमा नौलो पोलिसी हो। निर्जीवन कम्पनीहरूको पुलमार्फत कोरोना बीमा योजना ल्याइएको हो। सुरूमा हामीले यसमा यति धेरै आकर्षण होला भनेर सोचेका पनि थिएनौं। आकर्षण बढ्यो, जुन एकदमै राम्रो पक्ष हो।
सुरूमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालको पिसिआरबाट कोरोना प्रमाणित हुनेलाई बीमा भुक्तानी गर्ने भनेर मापदण्ड बन्यो। पछि निजी अस्पतालले पनि परीक्षणका लागि अनुमति पाउन थाले। जसले गर्दा अन्यौल सिर्जना भयो। निजीलाई मान्यता दिने वा नदिने? सरकारले नै मान्यता दिइसकेपछि हामीले पनि मान्नुपर्यो, जसका लागि कोरोना बीमाको मापदण्ड संशोधन गर्नुपर्यो।
भोलि कोरोना बीमामा कुनै ठगी नहोस् भन्न नियमन पनि बलियो हुनैपर्यो। त्यसैले, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संक्रमितको जुन तथ्यांक हुन्छ, त्यसैका आधारमा आवेदन प्रमाणित गरेपछि बल्ल वास्तविकता आउने भयो।
सुरूमा हामीलाई इपिडिमियोलोजीको तथ्यांक पहुँचमा समय लाग्यो। उसले बीमा समितिलाई दिन थालेपछि मात्रै त्यहाँबाट हामीले लियौं। त्यस्तै सुरूमा कर्मचारी अभाव थियो। पुलमा काम गर्न जम्मा ४ जना कर्मचारी दिइएको थियो। अहिले ४० जना खटिरहेका छन्।
कर्मचारीको कार्यदक्षता अभिवृद्धिमा पनि समय लाग्यो। बीचमा दसैं, तिहार, छठजस्ता चाडपर्व बिदा पर्यो। यसले गर्दा पुराना फाइल थन्किएर रहे। तर अब धमाधम काम भइरहेको छ। दैनिक ७ सयदेखि एक हजार जनाको आवेदन हामी प्रमाणित गरिरहेका छौं। प्रमाणित भएपछि उहाँहरू भुक्तानी पाउन योग्य हुनुभयो।
पुरानाहरू फुकिसकेपछि हामीले १५ दिनमै प्रमाणित गरेर भुक्तानी दिन सकिन्छ। अब सबै नीतिगत अन्यौलता सकिएका छन्। खाली बनाइएको नीतिनियम पछ्याउँदै हामीले पुराना फुकाउनुपर्नेछ। त्यो फुकाउन अझै एक देखि डेढ महिनासम्म लाग्न सक्छ।
कोरोना बीमा भुक्तानीमा भएको ढिलाइका कारण कतिपयलाई रकम पाइँदैन कि भन्ने आशंका हुन सक्छ।
कोरोना बीमाको रकम दिनैपर्छ, दिइन्छ। केही ढिलो अवश्य भएको छ, तर म आम बीमितलाई विश्वस्त पार्न चाहन्छु कि तपाईंले बीमा गरेपछि कोरोना संक्रमणमा पर्नुभएको भए, ढुक्क हुनुस्, बीमा रकम पाउनुहुन्छ।
अहिले एकैपटक धेरै आवेदन प्रमाणीकरण गर्नुपर्ने भएकाले ढिला भएको हो।
निवेदन त दिइयो तर कहिले पो पाइने हो भन्ने जिज्ञासा पनि हुन सक्छ। यो जिज्ञासा बीमितले सम्बद्ध कम्पनीमा फोन गरेर वा आफैं पुगेर आफ्नो निवेदनमाथि के भइरहेको छ भनेर बुझ्न पनि सक्नुहुन्छ।
अर्को कुरा, शिखर इन्स्योरेन्सको भाइबर तथा म्यासेन्जरमा च्याटबट सेवा उपलव्ध छ। त्यहाँ आफ्नो नाम, परिचयपत्र नम्बर, पोलिसी लिएको कम्पनीको नाम जानकारी गराएमा हामीले त्यहाँ जवाफ दिन्छौं।
नयाँ मापदण्डअनुसार भदौ २९ पछि कोरोना बीमा गर्नेलाई बीमाको २५ प्रतिशत नगद भुक्तानी गर्ने र बाँकी ७५ प्रतिशतसम्म अस्पतालको बील/भर्पाइका आधारमा दिने व्यवस्था छ। यसमा बीमित पनि स्पष्ट हुनुपर्छ।
हामीले कोरोना बीमाबाट तत्कालै आर्थिक फाइदा लिनेगरी योजना ल्याएका होइनौं। फाइदा भयो भने पनि त्यो रकम स्वास्थ्य क्षेत्रमै लगाउनेगरी कोष बनाउने अवधारणा थियो।
कोरोना बीमाले हामीलाई केही पाठ पनि सिकाएको छ। हुन सक्ने महाविपत्तिको पनि बीमा गर्न सकिन्छ भन्ने एउटा सन्देश यसले दिएको छ। धेरै जनतालाई यसले आर्थिक हिसाबमा राहत दिएको छ।
'बीमा गर्नुपर्छ' भन्ने सन्देश यसले दिएको छ, पहुँच बढाएको छ।
यसले लामो अवधिका लागि त बीमाको बजार बढ्छ नै। यसअघि भूकम्पले बढाएको थियो, अहिले महामारीले पनि बढाउनेछ। बीमा कम्पनीप्रति यसले विश्वास पनि बढाउनेछ।