लन्डनको 'द फाइनान्सियल टाइम्स' ले यो वर्ष 'बेस्ट कमर्सियल बैंक अफ दी इयर, नेपाल' को अवार्डमा एनएमबी बैंकलाई छान्यो। यसअघि सन् २०१७ र २०१८ मा पनि बैंकले यो उपाधि जितेको थियो।
यो अवार्डका लागि बैंक कसरी छनौट भयो? कोरोनाले थलिएका उद्योग व्यवसायमा ऋण जान थाल्यो कि थालेन? लगायत विषयमा बैंकका सिइओ सुनिल केसीसँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंहरूले यो वर्ष पनि बैंक अफ दी इयरको अवार्ड पाउनुभएको छ, यो अवार्डको महत्व के छ?
अन्तर्राष्ट्रियस्तरमै प्रसिद्ध संस्था र विशेष पहिचान भएकाले यो अवार्डबाट एनएमबी बैंकले सम्मान पाउनु भनेको बैंकले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनु हो।
चार वर्षमा तीन पटक यो अवार्ड पाउनुले अवश्य स्टेकहोल्डर र ग्राहकको विश्वास बढाउँछ। अर्कोतिर हामीप्रति ग्राहकको नयाँ आशा पनि बढ्दछ। ग्राहकलाई अझै बढी नवीनता प्रदान गर्ने, डिजिटल्ली हुने, नयाँ प्रविधिमा खर्च गर्नुपर्नेजस्ता विषयमा केन्द्रित हुन पनि प्रोत्साहन मिलेको छ।
द फाइनान्सियल टाइम्स, लन्डनमा अवस्थित एक अग्रणी समाचार संस्था हो। यसै संस्थाले विश्वको अर्थ तथा वित्तसम्बन्धी खोज, यथार्थमा आधारित निर्णायक समाचार सम्प्रेषण गर्न द बैंकर म्यागेजिन विगत ९५ वर्षदेखि निरन्तर प्रकाशित गरिरहेको छ।
विश्वभरिका बैंक तथा वित्तीय क्षेत्रले द बैंकर म्यागेजिनद्वारा प्रकाशित समाचार तथा सूचनाका आधारमा महत्वपूर्ण निर्णय लिन्छन्। यस अर्थमा भन्नु पर्दा सो म्यागेजिन विश्व वित्तीय क्षेत्रका लागि सबभन्दा भरोसा गरिने समाचार स्रोत हो।
म्यागेजिनले प्रत्येक वर्ष विश्वभरका वित्त संस्थाहरूलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गरी बैंक अफ दी इयर उपाधिबाट राष्ट्रिय, क्षेत्रीय, तथा समग्रमै सबभन्दा उत्कृष्ट बैंकका रूपमा सम्मान गर्ने गरेको छ।
संसारका वित्तीय संस्थाका लागि सबभन्दा गौरवशाली र प्रतिष्ठित उपाधिका रूपमा बैंक अफ दि इयर अवार्डलाई लिइन्छ।
एनएमबीले तीन पटकसम्म यो अवार्ड पाउनुका पछाडि कारण के-के देख्नुहुन्छ?
हामीले नेपालको बैंकिङ क्षेत्रमा सबैको उस्तै कार्य देख्छौं। सबैले राष्ट्र बैंकका नीति-नियममै आधारित भएर काम गर्ने हो।
द फाइनान्सियल टाइम्सले खाली बैंकको नाफा, व्यवसायको वृद्धि हेरेर मात्रै अवार्ड दिने होइन। संस्थागत सुशासन, शेयरधनीहरूलाई दिइने प्रतिफल, गुणस्तरीय सेवाका लागि गरिएका ग्राहकमूखी पहल, बैंकिङ प्रक्रिया परिस्कृत गर्न र छरितो बनाउन उठाइएका नविनतम डिजिटल सेवा तथा अभियान, समाज तथा पर्यावरण सुरक्षा तथा उत्थानका लागि गरिएका प्रयास, सबल वित्त प्रदर्शन, उत्पादनमूलक तथा दिगो क्षेत्रमा लगानीजस्ता विभिन्न मापदण्डबाट संस्थाहरू छनौट गरिन्छ।
हामीले ऊर्जा, पर्यटनजस्ता देशको अर्थतन्त्रका मुख्य क्षेत्रमा राम्रो लगानी गरेका छौं। संघीयतामा गइसकेपछि ग्रामीण क्षेत्रमा पहुँच बढाउन हामीले भूमिका खेलेका छौं। साना साना उद्यमीलाई बैंकिङ सेवामा ल्याएका छौं।
अझ यो पटक त झन् कोरोना असर बीचमा हामीले डिजिटल माध्यमबाट भरपुर सेवा दियौं। यही महामारी बेला पनि विदेशबाट पैसा ल्यायौं। हामीले ग्रामीण क्षेत्रमा पहुँच बढाउँदै गएका छौं। यिनै कारणले हामीलाई फरक ठाउँमा उभ्याउन सघाएजस्तो लाग्छ।
कोरोनाले थलिएका कतिपय उद्योग व्यवसाय उठ्दै होलान्, यति बेला बैंकको ऋण प्रवाह बढेका होला नि?
कोरोना समयमा पनि काम गरिरहेकै थियौं। हाम्रो बैंकको हालसम्म १३६ अर्ब रूपैयाँ कर्जा प्रवाह छ। लकडाउन बेला केही क्षेत्रबाहेक धेरैको काम हुन सकेन।
उद्योग, व्यवसायलाई चाहिने कच्चा पदार्थ आयात भइरहेको पनि थिएन। कर्मचारी पनि आ-आफ्ना ठाउँमा गएका थिए। त्यतिबेला बिजुली नै खेर गइरहेको थियो। खाद्यान्न, औषधिजस्ता अत्यावश्यक बाहेकको आयात घटेको थियो। सबै क्षेत्रको व्यवसायमा यसले असर त पारेकै छ।
बैंकिङ क्षेत्रमा पनि त्यो परेको छ। ऋणको वृद्धिदर पनि कम थियो। अहिले भएका उद्योगको उत्पादन क्षमता पनि बढ्दै गएको छ, नयाँ व्यवसायमा पनि ऋण माग आउन थालेको छ। उद्योग क्षेत्र सञ्चालन हुँदै गर्दा त्यो क्षेत्रबाट माग आउन थालेको छ। अर्को, आयात बढ्न थालेपछि केही हदमा त्यतातिर ऋण माग बढ्दै गएको छ।
अब बैंकहरूमा तरलता ‘टाइट’ हुँदै जान लागेको हो त?
अहिले बजारमा तरलता पर्याप्त नै छ। कोरोना महामारी बेला पनि तरलता पर्याप्त हुनु राम्रो कुरा हो। महामारीपछि त्यो तरलता हामीले उपयोग गर्न सक्ने छौं।
कोरोना नियन्त्रणमा आइसकेपछि हामी आर्थिक रुपमा अझ अघि बढ्नेछौं। त्यतिबेला बाहिरबाट पनि पैसा ल्याउनुपर्ने जरुरत पर्छ। जलविद्युत क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि अहिले ३ हजार मेगावाटका आयोजना बनिरहेको अवस्था छ। १५ हजार मेगावाटको जुन लक्ष्य छ, त्यसका लागि आन्तरिक स्रोतले मात्रै नपुग्न सक्छ।
हामी विदेशबाट थप पैसा ल्याउने प्रक्रियामा पनि छौं। केहीसँग सम्झौता भइसकेको छ। जरुरत पर्दा हामी ल्याइहाल्छौं। अहिलेसम्म ४ अर्बभन्दा बढी ल्याइसक्यौं।
राष्ट्र बैंकले कोरोनाबाट प्रभावित उद्योग व्यवसायका लागि एक वर्ष समयावधि दिएको छ। यो समय सकिएपछि त बैंकको खराब कर्जा बढ्ने देख्नु हुन्न?
लकडाउनका कारण सीमितबाहेक धेरै व्यवसाय नै चल्न नसकेपछि राष्ट्र बैंकले त्यो सहुलियत दिएको हो। व्यवसाय नै नचलेपछि उनीहरूले नतिरेको साँवा, ब्याज निष्क्रिय कर्जामा राख्नु पनि भएन। अहिले केही हदसम्म त्यस्तो ऋण राम्रो देखिएको छ।
हाम्रो बैंकबाट गएको ऋणका सन्दर्भमा नजिकबाट अध्ययन गरिरहेका छौं। कोरोनाको दोस्रो लहर आइदिएन भने अब सबैजसो व्यवसाय क्रमिक रुपमा सामान्य अवस्थामा फर्किन्छन्। सामान्य अवस्थामा आउन कतिपय व्यवासायीलाई अझ थप केही समय लाग्ला।
निष्क्रिय कर्जा त अहिले पनि बढेकै हो। भ्याक्सिन पनि बनिसकेकाले अब व्यवसायीप्रति सकारात्मक सोच छ। भूकम्प, नाकाबन्दी जस्ता समस्याबाट जसरी नेपाल सामान्य अवस्थामा फर्कियो, कोरोनामा पनि त्यो अवस्था हुनेछ।
फेरि अर्को लहर आएमा र नेपालमा खोप उपलब्ध नभए स्थिति केही फरक पनि हुन सक्छ। नेपालको बैंकिङ क्षेत्रमा अब कोरोनाका कारण त्यति ठूलो असर पर्ला जस्तो लाग्दैन।
बैंकहरूले घर, गाडीजस्ता व्यक्तिगत प्रकृतिका कर्जामा स्थिर ब्याजदर तोकेका छन्, तर त्यो त निकै महँगो देखियो नि! कतिपयको त आधार दरभन्दा दोब्बरसम्म छ।
त्यति महँगो होइन। कतिपयले साढे ८ प्रतिशतदेखि नै तोकेका छन्। कति लामो समयलाई ऋण दिइन्छ, त्यसमा पनि ब्याजदर भर पर्छ। हामीले जलविद्युत आयोजनाहरूका लागि पनि स्थिर ब्याजदरमा ऋण दिएका छौं।
ऋणीहरूमा यसबारे सचेतना हुँदैछ। १५ वर्षका लागि ऋण दिन स्रोत पनि त्योअनुसार हुनुपर्छ। यद्यपि यो प्रयासले भोलि ब्याजदरमा स्थिरता ल्याउँछ भन्ने अपेक्षा छ। अर्कोतर्फ ग्राहकलाई छनौटको अवसर भएको छ। कि बजारमा तरलताको अवस्था जस्तो हुन्छ, ग्राहक त्यहीअनुसार ब्याजदर तिर्न तयार हुनुपर्यो।
स्थिर दर लिने हो भने बजारमा भोलि तरलताको अवस्था जस्तोसुकै होस् अथवा ब्याजदर नै १७–१८ प्रतिशत पुगे पनि अहिले सम्झौता भएकै दर तिर्ने हो।
एक–दुई वर्षपछि आधार दर नै ११–१२ प्रतिशत पनि हुन सक्छ। तर आज दस वर्षका लागि १० प्रतिशतमा सहमति भयो भने त हामीले दस वर्षसम्म नै बढाउन पाउँदैनौं। विस्तारै स्थिर दरमा ऋण पनि गएको छ। केहीसँग सम्झौता पनि भएको छ।