मुलुकमा आर्थिक गतिविधि सल्बलाउन थालेसँगै बैंकहरुबाट जाने ऋण बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा मात्रै २७ वाणिज्य बैंकबाट ३९ अर्ब ऋण प्रवाह भएको छ। औसतमा दैनिक डेढ अर्बको हाराहारीमा ऋण प्रवाह हुने गरेकोमा पछिल्ला दुई साता ऋण प्रवाहमा ठूलो वृद्धि देखिएको हो।
पछिल्ला दुई सातामा बैंकहरुबाट प्रवाह भएको ऋण, सोही अवधिमा संकलित निक्षेपभन्दा धेरै हो। सो अवधिमा निक्षेप जम्मा ३२ अर्बले बढेको छ।
मंसिर १९ गतेसम्म २७ बैंकबाट कुल ३० खर्ब ८४ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा पुस ३ गतेसम्म आउँदा ३१ खर्ब २३ अर्ब पुगेको छ।
त्यस्तै १९ गतेसम्म ३६ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा पुस ३ गतेसम्म ३७ खर्ब १७ अर्ब पुगेको छ।

कोरोनाको असरका कारण लामो समयसम्म आर्थिक गतिविधि सुस्ताएको थियो। तर पछिल्ला दिनमा कर्जा प्रवाह बढेको बैंकका सिइओ बताउँछन्।
अहिले बैंकहरुमा कर्जाको माग बढेको एनएमबी बैंकका सिइओ सुनिल केसीले बताए। ‘लकडाउनको प्रभावले धेरै क्षेत्रमा काम हुन सकेन, अहिले ति क्षेत्र क्रमिक रुपमा सञ्चालनमा आउन थालेसँगै ऋणको माग बढेको हो’ सेतोपाटीसँगको कुराकानीमा केसीले भने।
‘अहिले भएका उद्योगहरुको उत्पादन क्षमता बढ्दै जान थालेको छ, अर्कोतर्फ नयाँ व्यवसायमा पनि ऋण माग आउन थालेको छ’ उनले भने। आयात बढ्न थालेपछि त्यस क्षेत्रमा पनि ऋण प्रवाह बढेको उनले बताए।
ऋण विस्तार बढ्नुले आर्थिक क्षेत्र सल्बलाउन लागेको जनाउँछ। होटल क्षेत्रबाट समेत अहिले ऋणको माग बढ्न थालेको उनले बताए।
‘कोरोनाको भ्याक्सिन समेत बनिसकेको अवस्थामा उद्योगी व्यवसायीमा समेत सकारात्मक सोच बढेको छ, ऋण प्रवाह अझै बढ्दै जानेछ’ उनले भने। भूकम्प, नाकाबन्दीजस्तै कोरोनाको असरबाट पनि नेपाल छिट्टै सामान्य अवस्थामा फर्किने उनले बताए।
हाल बैंकहरुमा १ खर्बको हाराहारीमा लगानीयोग्य रकम (तरलता) छ। ‘यस्तो संकटका बेला तरलता हुनु राम्रो हो, अब ऋण प्रवाह बढ्दै गएमा यसले नपुग्ने अवस्था पनि निम्तिन सक्छ’ उनले भने। तरलता अभाव हुन थालेमा विदेशबाट एनएमबी बैंकले ऋण समेत ल्याउने उनले बताए।
लगानीयोग्य रकम पर्याप्त हुँदा अहिले बैंकहरुको ब्याजदर समेत घटेको छ। जसले गर्दा पनि पछिल्लो समय ऋणको माग बढाउन टेवा पुगेको छ।
बैंकहरुको ऋण प्रवाह मात्रै होइन, राष्ट्र बैंकले प्रदान गर्ने पुनर्कर्जा कोषबाट समेत हाल ऋण प्रवाह हुन थालेको छ।