बिहीबार सेयर बजारको परिसूचक नेप्से करिब ३० अंकले घट्दा पनि होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ।
लामो समयसम्म कोरोनाभाइरसको असरका कारण प्रायः होटलको व्यवसाय बन्द रह्यो। होटलको व्यवसाय बन्द रहँदा बजारमा सेयर मूल्य पनि तल्लो विन्दुमा आएको थियो।
एक महिनायता समग्र बजार बढ्दा पनि होटल समूह बढ्न सकेको थिएन।
कोरोनाका भ्याक्सिन आउन थालेसँगै सस्तो भएको मौका पारेर लगानीकर्ता होटल समूहमा आकर्षित भएका हुन्।
यस दिन नेप्से २९. ८३ अंकले घट्दा पनि होटल समूह भने ९३ अंकले बढेको छ। सोल्टी होटल, ओरिएन्टल होटलको सेयर मूल्य सबैभन्दा धेरै क्रमशः ५.६७ र ५. १६ प्रतिशतले बढेको छ।
सोल्टीको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ भने ओरिएन्टलको मूल्य ४८९ रुपैयाँ कायम भएको छ।
समग्र परिसूचक २०३८ अंकमा कायम भएको छ। यस दिन ५ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भयो।
समूहगत रुपमा हेर्दा होटलबाहेक ब्यापार समूह १६ अंकले बढेको छ। अरु सबै समूह ओर्लिएका छन्।
बैंकिङ १७, विकास बैंक १७, जलविद्युत १७, फाइनान्स ८, निर्जीवन बीमा १४२, उत्पादन ४३, अन्य ३६, माइक्रोफाइनान्स ३७, जीवन बीमा ४३१ अंकले ओर्लिएका छन्।
कारोबारका आधारमा नविल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भयो।
कम्पनीको मूल्य प्रतिकित्ता १४२५ रुपैयाँमा झरेको छ। बैंकले वाणिज्य बैंकमा सबैभन्दा धेरै लाभांश घोषणा गरेपछि केही दिन मूल्य उकासिएको थियो।
बैंकले करसहित कुल ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ३३.५ प्रतिशत बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश छ।
अहिले भने बढेको मौकामा बेच्नेहरु बढ्दा मूल्य घट्न थालेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको ५९ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भयो। कम्पनीको मूल्य प्रतिकित्ता २३४० रुपैयाँ कायम भएको छ।
समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ। युनाइटेड इदी मर्दीको मूल्य ६. ३० प्रतिशतले घटेको छ।